काठमाडौं – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै सरकारले ती देशतर्फ जाने वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) अस्थायी रूपमा स्थगन गरेको छ। इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण खाडी क्षेत्रसहित इजरायल, टर्की लगायतका ११ देशका लागि श्रम स्वीकृति रोकिएको हो।
यद्यपि, वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। विभागको तथ्यांकअनुसार फागुनमा कुल ५२ हजार ९४४ जनाले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएका छन्। तीमध्ये ४६ हजार ४५२ जना पुरुष र ६ हजार ३९२ जना महिला रहेका छन्।
सोही अवधिमा पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या २८ हजार ३८३ रहेको छ भने २४ हजार ५६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको १७ दिन भइसकेको छ। इरानले खाडी क्षेत्र तथा अन्य देशमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गर्दै मिसाइल तथा मानवरहित विमानमार्फत आक्रमण गरिरहेको बताइएको छ। यसले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया, ओमान र बहराइन लगायतका देशमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ। फागुन १७ गते श्रममन्त्रीस्तरीय निर्णयबाट श्रम स्वीकृति तथा नवीकरण प्रक्रिया रोकिएको हो।
फागुन महिनामा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्। विभागका अनुसार मलेसियामा १२ हजार ६०१ जना, संयुक्त अरब इमिरेट्समा ११ हजार ४९२ जना, कतारमा ६ हजार ७७५ जना तथा साउदी अरेबियामा ६ हजार २२५ जना श्रम स्वीकृति लिएर गएका छन्।
फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिइसकेकाहरू विदेश गएकाले सो महिनामा विदेश जानेको संख्या उल्लेख्य देखिएको विभागले जनाएको छ।
यसअघि माघ महिनामा ७० हजार ५०३ जना, पुसमा ६२ हजार ५५९ जना र मंसिरमा ६५ हजार ७०५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका थिए।
