काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २ हजार २९७ जना र १ हजार १८७ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन्।
दर्ता भएका उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष र ३९५ जना महिला रहेका छन्। आगामी फागुन २१ गते १६५ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको थियो। उम्मेदवारलाई नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित १३ प्रकारका आवश्यक कागजात लिएर उपस्थित हुन आह्वान गरिएको थियो।
आयोगका अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यस्तै, माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ। सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय तोकिएको छ।
