‘मान्छेहरू माया गर्न जान्दैनन् तर कुकुरले त माया गर्न सिकाउँदो रहेछ, मान्छे चिन्न र व्यवहार गर्न सिकाउँदो रहेछ ।’
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर
काठमाडौँ — ‘के गर्छस् त, आज कमाइ नै भएन । मसँग पैसा पनि छैन,’ दिनभरि पर्खँदा पनि रिक्सामा यात्रु नआएपछि चालक बाबु तामाङ (५७) ले काखमा बसिरहेको साथी श्याम (८) लाई मुसार्दै भने, ‘तर चिन्ता नगर् । म तलाईं सापटी गरेरै पनि खुवाउँछु ।’
श्यामले मुन्टो उठायो । उसले बाबुको कुरा बुझेझैं प्रतिक्रिया दियो । मायालाग्दो अनुहारले हेर्यो अनि पुच्छर हल्लाउँदै लुटुपुटु गर्न थाल्यो ।
कुनै समय थियो, ठमेलका रिक्सा चालकहरूलाई यात्रु बोक्न भ्याइनभ्याइ नै हुन्थ्यो । तर समय बदलियो । कहिलेकाहीँ त यस्तो पनि हुन्थ्यो, दिनभरमा एकै टिप पनि नहुने । त्यस्तो बेला बाबु आफैसँग प्रश्न गर्थे, आज श्यामलाई के खुवाउने ?
एक दिन त्यस्तै भयो । त्यो दिन उनले साथीसँग डेढ सय रुपैयाँ मागे । ५० रुपैयाँ भक्तपुरस्थित घर जान भाडा छुट्याए । बाँकी सय रुपैयाँले श्यामलाई मासु किनिदिए । भलै आफू भोकै भएर पनि श्यामले पेटभरि खान पाएको हेर्दा बाबुको मन तृप्त हुन्छ ।
कुनै दिन रिक्साले धेरै टिप गर्न पायो र औसत भन्दा बढी कमाइ भयो भने बाबुले पहिलो खुसी श्यामलाई नै बाँड्छन् । उसैगरी मायाले मुसार्दै भन्छन्, ‘आज राम्रो कमाएको छु । तैंले मिठो खान पाउँछस् ।’ श्यामले भाषा बुझ्छ बुझ्दैन, तर बाबुको अनुहारको भाव जरुर थाहा पाउँछ ।
८ वर्षदेखि निरन्तर ठमेल परिसरमा कुकुर र मानिसबीचको यो गहिरो प्रेम देखिरहेका मानिसहरू अचम्मित छन् । बाबुलाई त कुकुर कम सन्तान बढी लाग्छ । उनी बिहानदेखि बेलुकासम्म श्यामलाई आफूसँगै लिएर हिँड्छन् । जब यात्रुहरू आउँछन् । बाबु कहिले बोलेर त कहिले इसारा गरेर श्यामलाई भन्छन्, ‘ओर्ली त । अब पेसेन्जर लानुपर्छ । तँ र म भएर पैसा कमाउनुपर्छ ।’
श्याम उसैगरी बाबुको मुखमा हेर्छ र थपक्क ओर्लिन्छ । रिक्सामा यात्रु चढ्छन् । श्याम कि रिक्साको अघिअघि लाग्छ कि पछिपछि । जब यात्रु झर्छन्, श्याम आफैं रिक्सामाथि उक्लन्छ । उनीहरू सँगै हुन्छन् । ‘यात्रु आउनासाथ उसलाई थाहा हुन्छ कि अब म झर्नुपर्छ । उसले मलाई सधैं यसरी नै सहयोग गरिरहेको छ,’ बाबु सुनाउँछन् ।

ठमेलस्थित जेपी सडकमा यात्रु पर्खेर श्याम र बाबु बसिरहेका थिए । श्यामको मुखमा मोहोला बाँधिएको थियो । चिनजानका मानिसहरू नजिक आएर सोधे, ‘यसको मुख किन छोपेको ?’ बाबुले जवाफ दिन नपाउँदै श्यामले सडकमा गुडिरहेको बुलेट बाइकलाई झम्टूला झैं गर्यो । केही मिटर परसम्म भुक्दै पिछा गर्यो । ‘देख्नुभयो । यसले गुडिरहेको बुलेट बाइक देख्नासाथ लगारिहाल्छ,’ बाबुले भने ।
एक महिना भयो, श्यामको शान्त स्वभाव बदलिएको । बाबुलाई श्यामको यही बदलिँदाे बानी देखेर चिन्ताले सताउँछ । ‘कसरी यस्तो भयो भने एकपटक बाटोमा हिँडिरहँदा बुलेट बाइकले उसको खुट्टामा छोएर हुइँकिएछ । ऊ थोरै घाइते भयो । बाइकले अत्यायो । केही दिन त खुट्टा खोच्च्याएर हिँड्न थाल्यो । त्यसअघि कहिल्यै यस्तो नगर्ने, त्यसपछि त कुदिरहेको बुलेट बाइक देख्नै हुन्न । जाई लागिहाल्छ ।’
केही दिनअघि नर्सिङ चोकका व्यवसायीहरूले बाबुलाई गुनासो गरे, ‘यदि केही गरी दुर्घटना भयो भने तपाईंले बेहोर्नुपर्छ । कुकरलाई सधैं ल्याउनुहुन्छ भने हामी नगरपालिकाको जिम्मा लगाइदिन्छौं । हैन भने घरमा राख्नुस् ।’
श्यामलाई छाडेर एक्लै रिक्सामा हिँड्ने बानी नै छुटिसकेको थियो बाबुको । व्यवसायीहरूको गुनासोले चिन्तित बनायो । गुनासोपछि मनै कसेर भए पनि श्यामलाई बाँधेर हिँडे । ‘पछि फर्कंदा रोएर खप्नु खानु गरेन,’ बाबु सुनाउँछन्, ‘मलाई सुँघ्यो । टाँस्सियो । उसको बह पोख्यो ।’ श्याम रोएपछि बाबुलाई पनि नरमाइलो लाग्यो । अनि उसैगरी जिउ मुसार्दै भने, ‘नरो तँ । तँलाईं मैले माया गरेको छु । तेरो बानी अलि खराब भएर हो । बानी सप्रिएदेखि सधैं लिएर हिँड्थेँ ।’
त्यस दिनदेखि उनले श्यामको मुखमा मोहोला लगाइदिए । ‘त्यो लगाए पनि बुलेट बाइक देख्दा रिसाउन छाडेको छैन । तर आजसम्म मान्छे टोकेको छैन,’ बाबु सुनाउँछन् ।
श्यामलाई गुनासो मात्र होइन, माया गर्नेहरू पनि प्रशस्तै छन् । होटल साहुहरूदेखि निलो भ्यानमा हिँडिरहने प्रहरीले समेत बेलाबेला खाना दिएर माया दर्साउँछन् ।

बिहानदेखि साँझसम्म सँगै हुने उनीहरू त्यसपछि भने छुट्टिन्छन् । बाबु भक्तपुर बस्छन् । श्यामलाई सधैं घर लिएर जान मन त हुन्छ । तर बसचालक र यात्रुहरू मान्दैनन् । उनी क्षेत्रपाटीस्थित रिक्सा ग्यारेजमा श्यामलाई छाडेर घरतर्फ लाग्छन् । श्यामको साँझका साथी भने ग्यारेजका मिस्त्री सन्जय चौधरी हुन् । मिस्त्रीले पनि श्यामलाई उस्तै माया गर्छन् । तर श्यामले सबैभन्दा बढी माया त फेरि बाबुलाई नै गर्छ । ‘जब बिहान म ग्यारेज पुग्छु । ऊ आउँछ । सुँघ्छ । मायाले अनुहार चाट्छ । किन गइस् भनेको होला । अनि त मलाई एक सेकेन्ड पनि छाड्दैन,’ बाबु सुनाउँछन् ।
दोलखामा जन्मे हुर्केका बाबुको १४ वर्षमै बिहे भयो । १६ वर्षमा त उनी पहिलो सन्तानको बाबु बने । घरको आर्थिक अवस्था कमजोर थियो । उनी काम खोज्न १६ वर्षमै काठमाडौं पसे । एकजना मामा पर्ने आफन्तले उनका लागि काम खोजे । तर पाएनन् । त्यसपछि उपाय जुराउँदै भने, ‘अर्थोक के काम गर्छौ भान्जा, अब यही रिक्सा सिक ।’ उनै आफन्तसँग ४ दिन रिक्सा चलाउन सिके । त्यस दिनदेखि रिक्सा डोहोर्याएर हिँड्न थालेका बाबुको हातबाट आजसम्म ह्यान्डल छुटेको छैन ।
बाबुका ४ छोरा र २ छोरी छन् । कान्छाबाहेक सबैको बिहे भइसक्यो । सबै सन्तान आ–आफ्ना कर्ममा व्यस्त छन् । बाबु दम्पतीले भक्तपुरमा साढे २ रोपनी जग्गा भाडामा लिएका छन् । वर्षको ४० हजार तिर्छन् । त्यहाँ टहरा बनाएर ओत लाग्दै आएका छन् उनीहरू ।
उनले श्यामलाई भेटेको ८ वर्षअघि हो । ‘एकजना धोबी परिवारकहाँ माउ कुकुरले बच्चाहरू जन्माएको थियो । यो त्यतिबेला इत्रु (हातको इसारमा) थियो । धोबीले यसलाई पाल्न सक्दिनँ भन्दै पाल्ने मान्छे खोजिरहेका थिए,’ श्याम सम्झन्छन्, ‘सानो चटक्कै परेको । हामीलाई त साह्रै मन परेको ।’ उनीसहित ग्यारेजका मिस्त्री र केही रिक्सा चालक साथीहरूले निर्णय लिए, ‘यसलाई हामी मिलेर हुर्काऔँ ।’ उनीहरूले सोचेरै एउटा सुन्दर नाम राखिदिए– श्याम ।
त्यस दिनदेखि ऊ सबैको श्याम भयो । श्याम बढी त बाबुसँगै रत्तिन थाल्यो । बाबुसँगै हिँड्न थाल्यो । ‘अरुसँग पनि मिल्छ । तर उसलाई मै चाहिन्छ । म भएन भने उसलाई संसार नभएजस्तो हुन्छ,’ बाबु खुसीभावमा भन्छन् ।

गत चैतमा राजावादीहरूको आन्दोलन चलिरहेको समय सडकमा सवारी आवतजावत ठप्प थियो । त्यो बेला भने बाबुले श्यामलाई एक साता भक्तपुर लगेर राखे । खासमा बाबु एकजना साथीसँग पैदल घर जाँदै थिए । रत्नपार्क पुग्दा पो थाहा भयो, श्यामले पिछा गरिरहेको रहेछ । ‘यत्रो टाढा बाटो कहाँ हिँडेर जान्छस्,’ उनले सुमसुम्याउँदै भने । श्याम उसैगरी ट्वाल्ल हेरेर बस्यो । बाबुले वरसम्म छाडेर हिँडे । श्याम फेरि पछिपछि लाग्यो । बाबुलाई माया लाग्यो । अनि सँगै हिँडाएर लगे ।
घरमा बाबुकी श्रीमतीले पनि कुकुरहरूलाई औधि माया गर्छिन् । पहिला गाउँमा पनि उनीहरूले कुकुर पालेका थिए । बिडम्बना, एक दिन चितुवाले लगिदियो । बाबु दम्पतीलाई केही दिनसम्म शोक पर्यो । यसपालि बाबुकी श्रीमतीले श्यामलाई सन्तानजतिकै माया गरिन् । साता दिनपछि त फर्केर आउनुपर्यो । सवारीसाधन चलिसकेका थिए । उनले बसका चालकलाई भने, ‘यसलाई पनि लिएर जाऔं है ।’ चालकले मानेनन्, ‘यसलाई हालेपछि यात्रुहरू चढ्दैनन् ।’
त्यसपछि त बाबु श्यामलाई लिएर हिँड्दैहिँड्दै आए । बानेश्वर पुगेपछि एउटा खाली बस भेटे । ‘भाइ यो कुकुर पनि हाल्ने हो?’ बाबुले चालकलाई आग्रह गरे, ‘बरु यसको भाडा जति लाग्छ म दिन्छु ।’ चालकले माने । सिटमा गएर उनीहरू बसे । जब गाडी हुइँकियो । श्यामले फुत्त हाम फाल्यो । गुडिरहेको गाडी बिना स्टेसन रोक्न मिल्दैन । श्याम छुटेकामा बाबु अतालिए । दु:खी भए । एक मनले भन्यो, ‘पछ्याउँदै आउँछ ।’ नभन्दै उनी रत्नपार्क ओर्लेर अगाडि बढ्दा श्याम उनकै नजिक आइपुगिसकेको थियो ।
श्याम आफूसँग भएर पछिल्लो समय त बाबुलाई आर्थिक रुपमा पनि फाइदा भएको छ । एकपटक नर्सिङ चोकमा एकजना भारतीय नागरिक चढे । उनले श्याम र बाबुबीचको प्रेमलाई भिडियोमा कैद गरे । लागेको भाडाभन्दा एक सय बढी रुपैयाँ दिए । त्यो पैसा श्यामको कमाइ थियो । यसरी फोटो र भिडियो खिचेर श्यामका लागि छुट्टै पैसा छाडिदिन्छन् ।
कुकुर नरुचाउने यात्रु पनि हुन्छन् । तर धेरैले चाहिँ माया गर्छन् । ‘एकजना अमेरिकन महिलाले एक घण्टालाई घुम्ने भनेर रिजर्भ गर्नुभयो । यो सँगै थियो । उहाँले यसलाई पनि सँगै लैजान लगाउनुभयो । एक घण्टासम्म भिडियो बनाउनुभयो पछि लागेको भाडाभन्दा एक सय बढी दिनुभयो,’ बाबु सम्झन्छन् । सिजनको बेला त यसको फोटै खिचेर भए पनि पैसा दिनेहरू हुन्छन्,’ बाबु भन्छन् ।
बाबुले महिनामा करिब ४५ सय त श्यामकै लागि छुट्याउँछन् । ‘यो दूध खाँदैन । भात खाँदैन । चिउरा र मासु मोलेर खुवाउनुपर्छ,’ उनी भन्छन् । उनी श्यामलाई सातामा एक दिन नुहाइदिन्छन् । नुहाउन कहिल्यै मान्दैन श्याम । नुहाएपछि भने उधुमै राम्रो र खुसी देखिन्छ ।
बाबुलाई कसैले ठूलो स्वर गरेको श्याम सहन सक्दैन । ठूलो स्वर गर्नेलाई झम्टूला झैं गरी भुक्छ । ऊ आफ्ना प्रिय मान्छेहरूको झगडा पनि देख्न चाहँदैन । ‘एकपटक मिस्त्री र मेरो विवाद भयो । हामी ठूल्ठूलो स्वर गर्यौं । उसले बुझ्यो । हामी दुवैलाई हेरेर भुक्यो । उसले हामीलाई मिलाउन खोजेको थियो,’ बाबु भन्छन् ।

बाबु रिक्सा लिएर एक्लै हिँडे भने पनि पत्ता लगाएरै छाड्छ श्याम । ‘एकपल्ट एकजना रिक्सा चालक साथीले उसलाई माया गरेर लिएर गएछन् । मैले ग्यारेजमा देखिनँ । साथीलाई कल गरेर तँसँग श्याम छ भनेर सोधेँ । फोनमा उसले मेरो आवाज सुनेछ अनि दौडेर म भएको ठाउँमा आइपुग्यो,’ बाबु सुनाउँछन् । ती साथीले दंग पर्दै पछि बाबुलाई भनेछन्– तिम्रो श्यामले त फोनको कुरा पनि बुझ्दो रहेछ ।
श्यामलाई कसैले गाली गरेको वा जाई लागेको त बाबु खप्नै सक्दैनन् । एकपटक एउटा कुकुरले बाटोमा हिँडिरहेको मानिसलाई टोकेर भागेछ । त्यो भाग्नु र श्याम त्यहाँ पुग्नु एकैपटक भएछ । ती व्यत्तिले आफूलाई टोक्ने कुकुर श्यामै नै ठानेछन् । अनि रड लिएर लखेट्न थालेछन् । त्यो देखेर बाबु असह्य भए । आक्रोश भरिएको लबजमा उनले धम्क्याए, ‘यसलाई छोएर मात्र हेर् त । त्यसपछि के हुन्छ ।’ अर्को मान्छेले रड उठाउनेलाई भनिदिए, ‘तपाईंलाई टोक्ने कुकुर यो होइन, अर्को हो ।’ त्यसपछि उनले रड फाले । निकै समयसम्म बाबुको डर र क्रोध कम भएन ।
हरेक वर्ष श्यामको आयु उकालो लाग्दै छ । आफ्नोभन्दा पनि बाबुलाई श्यामको बढ्दो आयुले चिन्तित बनाउँदो रहेछ । जति बढ्छ त्यति गुमाउँछु भन्ने डर लाग्दो रहेछ । ‘बरु आफ्नै उमेर पनि थपिदिन पाए हुन्थ्यो झैं लाग्दो रहेछ,’ बाबु हाँसोसँगै भावुक कुरा गर्छन् ।
श्याम जीवनमा आएदेखि बाबुले गुमाउनभन्दा प्राप्त गरेका कुरा धेरै छन् । पहिलेभन्दा खुसी र सन्तुष्टि उनलाई श्याम आएपछि मिलेको थियो । पछिल्लो समय त उनलाई अलग्लै कुरा महसुस हुन थालेको छ । ‘मान्छेहरू माया गर्न जान्दैनन् । तर कुकुरले त माया गर्न सिकाउँदो रहेछ । मान्छे चिन्न र व्यवहार गर्न सिकाउँदो रहेछ । मलाई यसले धेरै कुरा सिकाएको छ,’ बाबु श्यामलाई प्रेमिल स्पर्श गर्दै भन्छन् ।
