अकल्यान्डको डिउ ड्रप इभेन्ट सेन्टरमा आगामी मे १० मा हुने नेपथ्यको प्रत्यक्ष सांगीतिक प्रस्तुतिका लागि खुला गरिएको वेटलिस्ट टिकटमा पहिलो दिनमै पाँच सयभन्दा बढीले दर्ता गरेका छन्। कार्यक्रम आयोजक लाखे इभेन्ट्सले सोमबारदेखि वेटलिस्ट दर्ता खुला गरेको हो।

आयोजक संस्थाका विशेष खड्काका अनुसार पहिलो दिनको उत्साहजनक दर्ताले न्युजिल्यान्डमा रहेका नेपाली समुदाय नेपथ्यको प्रस्तुति प्रत्यक्ष हेर्न कत्तिको आतुर छन् भन्ने स्पष्ट संकेत दिएको छ। उनले सबैलाई यथाशीघ्र वेटलिस्टमा नाम दर्ता गर्न आग्रह गर्दै टिकट मूल्य यसै हप्ताको अन्त्यसम्म सार्वजनिक गरिने जानकारी दिए। टिकट मूल्य सबै दर्शकलाई सहज र पहुँचयोग्य हुने गरी निर्धारण गरिने तयारी रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको मिति र स्थानबारे यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको भए पनि टिकटसम्बन्धी विवरण भने हालसम्म सार्वजनिक गरिएको थिएन। वेटलिस्ट खुला भएसँगै दर्शकको उत्साह झनै बढेको देखिएको छ।

नेपाली लोक–रक संगीतलाई विश्वमञ्चमा परिचित गराउन सफल नेपथ्यको प्रस्तुति न्युजिल्यान्डमा नौ वर्षपछि हुन लागेको हो। त्यसैले पनि यहाँका नेपालीहरू लामो समयदेखि प्रतीक्षारत रहेका थिए। आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र स्मरणीय बनाउन तयारी तीव्र पारिएको छ । नौ वर्षको प्रतीक्षापछि हुन लागेको यो नेपथ्य सांगीतिक साँझ अकल्यान्डमा मात्र आयोजना हुने भएकाले देशभरबाट दर्शक अकल्यान्ड आउने अपेक्षा गरिएको छ।

Link for waitlist