क्राइस्टचर्च। न्युजिल्याण्डको इतिहासकै सबैभन्दा दुःखद् घटनामध्ये एक मानिने क्राइस्टचर्च मस्जिद आक्रमणको सातौँ वर्षगाँठ नजिकिँदै गर्दा मुस्लिम समुदायमा पीडा अझै ताजा रहेको र समाजमा फेरि घृणा बढ्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
२०७५ साल चैत १ गते जुम्मा नमाजका क्रममा क्राइस्टचर्चस्थित अल–नूर मस्जिद र लिनवुड इस्लामिक केन्द्रमा भएको आतंककारी आक्रमणमा ५१ जनाको ज्यान गएको थियो। करिब १५ मिनेटको छोटो अवधिमा भएको उक्त गोलीकाण्डले न्युजिल्याण्डलाई मात्रै होइन, विश्व समुदायलाई नै स्तब्ध बनाएको थियो।
घटनामा गम्भीर घाइते भएका जेकरिया तुइयान पछि निधन भएपछि उनी ५१औँ सहिदका रूपमा चिनिएका थिए। उनकी पत्नी हमिमाह अहमदका अनुसार धेरै मानिसका लागि जीवन अगाडि बढिसकेको देखिए पनि पीडित परिवारका लागि समय मानौँ त्यही दिनमै रोकिएको जस्तो महसुस हुन्छ।
उनले भनिन्, “धेरैलाई लाग्छ जीवन सामान्य भइसकेको छ, तर हाम्रो लागि भने त्यो दिनको पीडा अझै उस्तै छ। धेरैले मार्च १५ र त्यसबाट सिक्नुपर्ने पाठ बिस्तारै बिर्सिँदै गइरहेका जस्तो लाग्छ।”
त्यस्तै रोजमेरी उमरले पनि उक्त आक्रमणमा आफ्ना छोरा तारिक उमर गुमाएकी थिइन्। उनका अनुसार सात वर्ष बितिसक्दा पनि त्यो घटना हिजोझैँ लाग्छ।
“कहिलेकाहीँ लाग्छ हामी कहिल्यै अघि बढ्न सक्दैनौँ। बरु त्यो पीडासँगै बाँच्न सिकिरहेका छौँ,” उनले भनिन्। “तारिक अत्यन्त शान्त, दयालु र सहयोगी युवक थिए। यस्तो राम्रो छोरालाई यसरी गुमाउनु अत्यन्त पीडादायी छ।”
त्यस्तै घटनामा आफ्नी पत्नी गुमाएका फरीद अहमदले भने दुःखलाई प्रेम र सहिष्णुतामा बदल्ने प्रयास गरिरहेका छन्। आक्रमणपछि उनले सार्वजनिक रूपमा आफ्नी पत्नीका हत्यारालाई क्षमा गरेका थिए, जुन निर्णयले विश्वभर ध्यान आकर्षित गरेको थियो।
उनका अनुसार घृणा र प्रतिशोधले पीडा झनै गहिरो बनाउने भएकाले क्षमा र सहअस्तित्वको मार्ग रोज्नु नै उपचारको बाटो हो। “हामीले क्रोध र घृणाबाट मुक्त भएर शान्ति र सद्भावका लागि काम गर्नुपर्छ,” उनले भने।
मुस्लिम समुदायका अगुवाहरूका अनुसार पछिल्ला वर्षहरूमा घृणाजन्य घटनाहरू फेरि बढ्न थालेको संकेत देखिएको छ। प्रहरी तथ्याङ्कले पनि हरेक हप्ता औसतमा केही घृणासम्बन्धी घटनाहरू दर्ता हुने गरेको देखाएको छ।
समुदायका सदस्यहरूले सामाजिक सञ्जालमा इस्लामविरोधी अभिव्यक्ति बढ्दै गएको र कतिपय मुस्लिम महिलामाथि हिजाब तान्ने वा अपमानजनक व्यवहार गर्ने घटनाहरू अझै देखिने गरेको बताएका छन्।
यस वर्ष चैत १ को स्मरणमा क्राइस्टचर्चस्थित वनस्पति उद्यानमा सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा आक्रमणमा ज्यान गुमाएका ५१ सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिनेछन्।
फरीद अहमदले भने सोही अवसरमा समुदायमा प्रेम र आशाको सन्देश फैलाउने उद्देश्यले १५० वटा केक वितरण गर्ने योजना बनाएका छन्।
समुदायका अगुवाहरूका अनुसार यस्तो स्मरण दिवसले समाजमा एकता, सहिष्णुता र विविधताको सम्मानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। उनीहरूले न्युजिल्याण्ड बहुसांस्कृतिक समाज भएको स्मरण गराउँदै सबै समुदायबीच आपसी सम्मान र सहअस्तित्व अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। समाचार स्रोत : आरएनजेड
