अकल्याण्ड । नेपाली सांगीतिक माहोल आज फेरि एकपटक तातिँदै छ । नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्यले आज साँझ अकल्याण्डमा दिन लागेको प्रस्तुतिले अकल्याण्डको साँझ नेपाली संगीतमा तातिन लागेको हो ।
ग्रेस इन्टरनेशनलको प्रस्तुति तथा लाखे इभेन्ट्सको आयोजनामा हुन लागेको नेपथ्य साँझ अकल्याण्डस्थित ड्यु ड्रप इभेन्ट्स सेन्टरमा हुँदैछ । नेपथ्य साँझका लागि न्युजिल्याण्डका विभिन्न कुनामा रहेका नेपालीहरू आफ्नो परिवारसहित अकल्याण्ड आउने क्रम जारी छ । धेरैले आफू अकल्याण्ड आउन लागेको भन्दै फेसबुक तथा इन्स्टाग्राममा फोटो पोस्ट गरेका छन् ।
आयोजक संस्था लाखेका अनुसार कार्यक्रममा करिब दुई हजारभन्दा बढी दर्शक सहभागी हुँदैछन् । केही सिट मात्र बाँकी रहेको र बाँकी सबै टिकट बिक्री भइसकेको लाखेले जानकारी दिएको छ ।
नेपथ्यका ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’, ‘सिरफूल’, ‘छेक्यो छेक्यो’, ‘जोमसोम बजारमा’, ‘उडायो रेलैले’ लगायत चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाउने अवसरले संगीतप्रेमीहरू उत्साहित बनेका छन्। युवापुस्तादेखि पुराना पुस्तासम्मलाई एकै ठाउँमा जोड्ने नेपथ्यको संगीतले कन्सर्टलाई विशेष बनाएको आयोजकको भनाइ छ ।
आयोजक लाखे इभेन्ट्सका अनुसार कार्यक्रमलाई भव्य बनाउन साउन्ड, लाइटिङ र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। ‘फ्लोर टिकट’ यसअघि नै पूर्ण रूपमा बिक्री भइसकेका छन् भने बाँकी टिकटहरू पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नेपथ्य टोली केही दिनअघि अकल्याण्ड आइपुगेको थियो। टोलीलाई माओरी परम्पराअनुसार ‘हाक्का’ सहित औपचारिक स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा बोल्दै प्रमुख गायक अमृत गुरुङले विदेशमा रहेका नेपाली समुदायबीच प्रस्तुति दिन पाउँदा खुशी लागेको बताएका थिए ।
तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपथ्यले नेपाली लोकधुनलाई आधुनिक संगीतसँग जोड्दै नेपाली संगीतलाई विश्वमञ्चसम्म पुर्याएको छ। सामाजिक सन्देश, नेपाली मौलिकता र भावनात्मक गीतका कारण ब्यान्ड नेपाली समुदायमाझ विशेष लोकप्रिय मानिन्छ ।
विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि आजको कार्यक्रम केवल सांगीतिक प्रस्तुति मात्र नभई नेपाली भाषा, संस्कृति र आत्मीयतासँग जोडिने विशेष अवसरका रूपमा हेरिएको छ। र आत्मीयतासँग जोडिने विशेष अवसरका रूपमा हेरिएको छ ।
