अमेरिका र इरानबीच पछिल्ला दिनमा तीव्र बन्दै गएको तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले इरानका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने इरान जाने तयारीमा रहेकालाई यात्रा स्थगित गर्न अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल इरानमा १० जना नेपाली नागरिक रहेका छन् । उनीहरू सबै सुरक्षित रहेको र सरकारको नियमित सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । सबै नेपाली नागरिक वैध रूपमा इरानको राजधानी तेहरान क्षेत्रमा बसोबास गरिरहेको जानकारी दिइएको छ ।

मन्त्रालयले ट्राभल एडभाइजरी कुनै एकल घटनाको आधारमा नभई समग्र क्षेत्रीय सुरक्षा अवस्थालाई मूल्याङ्कन गर्दै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर जारी गरिएको जनाएको छ । इरानमा रहेका नेपालीलाई हतारमा जोखिमपूर्ण यात्रा नगर्न र आवश्यक सावधानी अपनाउँदै सुरक्षित व्यवस्थापनका साथ बस्न पनि आग्रह गरिएको छ ।

अमेरिका र इरानबीच पछिल्लो समय सैन्य गतिविधि, कूटनीतिक आरोप–प्रत्यारोप र क्षेत्रीय सुरक्षासम्बन्धी घटनाक्रमका कारण तनाव बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मध्यपूर्व क्षेत्र अस्थिर बन्दै जाँदा त्यसको प्रभाव इरानसहित आसपासका मुलुकमा समेत पर्न सक्ने भन्दै विभिन्न देशहरूले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेका छन् ।

यसै सन्दर्भमा नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै सचेतना स्वरूप ट्राभल एडभाइजरी जारी गरेको हो । नेपाल सरकारका अनुसार इरानसम्बन्धी कूटनीतिक तथा नागरिक सुरक्षासम्बन्धी समन्वय कतारस्थित नेपाली दूतावासमार्फत भइरहेको छ ।

यसैबीच, नेपाल सरकारले इरान जाने योजना बनाएका नेपालीलाई अवस्था सामान्य नहुँदासम्म केही समयका लागि यात्रा स्थगित गर्न सल्लाह दिएको छ ।