अकल्याण्ड। विश्वका विभिन्न मुलुकमा फैलिँदै आएको अत्यधिक सङ्क्रामक एच–फाइभ–एन–वान (H5N1) बर्ड फ्लु पहिलो पटक न्युजिल्यान्डमा पनि पुष्टि भएको छ। राजधानी वेलिङ्टनको पेटोने समुद्री तटमा मृत अवस्थामा भेटिएको ब्राउन स्कुआ प्रजातिको समुद्री चरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाएको छ।

बायोसिक्युरिटी मन्त्री एन्ड्र्यु होगार्डले बुधबार संक्रमण पुष्टि भएको जानकारी दिँदै यो अवस्था अपेक्षित भए पनि देश यसका लागि लामो समयदेखि तयारी अवस्थामा रहेको बताउनुभयो। केही दिनअघि मात्र उहाँले बर्ड फ्लु “जुनसुकै बेला न्युजिल्यान्ड आइपुग्न सक्ने” चेतावनी दिनुभएको थियो।

वन्यजन्तुका लागि सबैभन्दा ठूलो चुनौती

संरक्षणविद्हरूका अनुसार अहिले पुष्टि भएको एच–फाइभ–एन–वान भाइरस सन् २०२० देखि उत्तरी गोलार्द्धमा तीव्र रूपमा फैलिएको प्रकार हो। यो भाइरस अन्य प्रकारको बर्ड फ्लुभन्दा जंगली चराबीच धेरै छिटो फैलिने भएकाले विशेष चिन्ताको विषय बनेको छ।

न्युजिल्यान्ड संरक्षण विभाग (DOC) ले देशका दुर्लभ समुद्री चरा तथा संकटापन्न प्रजाति यसबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने जनाएको छ। अन्तर्राष्ट्रिय अनुभवअनुसार यस भाइरसले समुद्री स्तनधारी जनावर र हजारौँ वन्य चराको मृत्यु गराइसकेको छ।

ओटागो विश्वविद्यालयकी विकासवादी भाइरोलोजिस्ट डा. जेम्मा जियोगेगनले न्युजिल्यान्डका धेरै स्थानीय समुद्री चराहरू संक्रमणप्रति संवेदनशील हुन सक्ने बताउँदै अहिलेको मुख्य चुनौती भाइरस कति फैलिसकेको छ भन्ने पहिचान गर्नु रहेको बताउनुभयो।

स्कुआ चराबाट संक्रमण कसरी फैलियो?

विज्ञहरूका अनुसार स्कुआ समुद्री चरा मृत जनावर खाने तथा अन्य चराको सिकार गर्ने भएकाले बर्ड फ्लु संक्रमणको उच्च जोखिममा रहने प्रजाति हो। दक्षिण अमेरिकाबाट दक्षिणी महासागर हुँदै रोग फैलिनुमा स्कुआ र जायन्ट पेट्रेल प्रमुख वाहक रहेको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ। संक्रमित जनावरको लास, र्‍याल, दिसा वा शरीरका तरल पदार्थबाट भाइरस सजिलै सर्न सक्ने भएकाले यस्तो संक्रमण तीव्र रूपमा फैलिने जोखिम रहने बताइएको छ।

सरकारले बढायो निगरानी

न्युजिल्यान्डमा अष्ट्रेलियामा संक्रमण फैलिएपछि नै निगरानी प्रणाली सुदृढ पारिएको थियो। अहिले पनि कृषि तथा प्राथमिक उद्योग मन्त्रालय (MPI), संरक्षण विभाग, प्रयोगशाला तथा वन्यजन्तु विशेषज्ञहरूले संयुक्त रूपमा निगरानी गरिरहेका छन्। सरकारले सर्वसाधारणलाई बिरामी वा मृत अवस्थामा देखिएका चरा, विशेषगरी समुद्री किनारमा ठूलो सङ्ख्यामा भेटिएमा तुरुन्तै एमपीआईलाई जानकारी गराउन आग्रह गरेको छ। विशेषज्ञहरूले मृत वा बिरामी चरालाई नछुन, घरपालुवा जनावरलाई त्यस्ता चराको सम्पर्कमा जान नदिन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

मानव स्वास्थ्यमा जोखिम कति?

स्वास्थ्य न्युजिल्यान्डका अनुसार बर्ड फ्लु सामान्यतया मानिसमा सजिलै सर्दैन। हालसम्म न्युजिल्यान्डमा कुनै पनि व्यक्तिमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छैन। संक्रमित चरासँग लामो समय प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा मात्रै संक्रमण हुने सम्भावना रहने भएकाले सर्वसाधारणका लागि तत्काल ठूलो स्वास्थ्य जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

सन् २०२४ मा पनि भेटिएको थियो अर्को प्रकार

यसअघि सन् २०२४ को डिसेम्बरमा ओटागोस्थित एक कुखुरा फार्ममा एच–सेभेन–एन–सिक्स (H7N6) प्रकारको बर्ड फ्लु पुष्टि भएपछि डेढ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको थियो। तर अहिले पुष्टि भएको एच–फाइभ–एन–वान भने फरक र बढी सङ्क्रामक प्रकार भएको विज्ञहरूले बताएका छन्। सरकारले अहिलेको अवस्थालाई गम्भीर रूपमा लिए पनि सर्वसाधारणलाई त्रसित नहुन आग्रह गर्दै निगरानी, परीक्षण र जैविक सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइएको जनाएको छ।