अकल्याण्ड। नेपालमा दुई दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई निरन्तरता दिँदै न्युजिल्याण्डको अकल्याण्डमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। संस्थाले नयाँ कार्यालयमार्फत न्युजिल्याण्डमा अध्ययन गर्न आउने तथा अध्ययनरत विद्यार्थीलाई भिसा, शैक्षिक परामर्श, बसोबास, विद्यार्थी जीवनमा आउने चुनौती तथा करियर सम्बन्धी विभिन्न सेवामा सहजीकरण गर्ने जनाएको छ।

पछिल्ला वर्षहरूमा न्युजिल्याण्ड नेपाली विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। विद्यार्थीको संख्या बढ्दै जाँदा उनीहरूले सामना गर्ने शैक्षिक, कानुनी, सांस्कृतिक, मानसिक स्वास्थ्य, रोजगारी तथा बसोबाससम्बन्धी चुनौती पनि बढ्दै गएका छन्। यही आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीलाई अध्ययन सुरु गर्नुअघि मात्र होइन, न्युजिल्याण्ड आइपुगेपछि पनि निरन्तर सहयोग गर्ने उद्देश्यले अकल्याण्ड शाखा स्थापना गरिएको संस्थाले जनाएको छ।
द नेक्स्टका अनुसार, नयाँ शाखाले नेपालसहित अन्य देशबाट न्युजिल्याण्ड अध्ययनका लागि आउने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई न्युजिल्याण्डको शिक्षा प्रणाली, भिसा प्रक्रिया, अध्ययनपछिका अवसर, रोजगार बजार, बसाइँसराइ, कानुनी दायित्व तथा यहाँका चुनौतीबारे यथार्थ र अद्यावधिक जानकारी उपलब्ध गराउनेछ। साथै आवश्यक परे सम्बन्धित सरकारी तथा सामुदायिक निकायसँग समन्वय गरेर विद्यार्थीका समस्याको समाधानमा समेत सहकार्य गर्ने लक्ष्य राखिएको छ।
शाखा कार्यालयको उद्घाटन न्युजिल्याण्डका लागि नेपालका पूर्व अवैतनिक वाणिज्यदूत दिनेश खड्काले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढेसँगै शैक्षिक परामर्श संस्थाको विस्तार हुनु सकारात्मक पक्ष भए पनि विद्यार्थीको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनले भने, “विद्यार्थीलाई आकर्षक सपना देखाएर होइन, सही र सत्य जानकारी दिएर विदेश पठाउनुपर्छ। कन्सल्टेन्सीको उद्देश्य नाफा कमाउनु मात्र होइन, विद्यार्थीको भविष्य सुरक्षित बनाउनु पनि हो। विदेशमा समस्या परेका विद्यार्थीको साथमा उभिनु हरेक शैक्षिक परामर्श संस्थाको सामाजिक जिम्मेवारी हो।”

कार्यक्रममा बोल्दै द नेक्स्टका निर्देशक शालिकराम भण्डारीले पछिल्लो समय न्युजिल्याण्ड नेपाली विद्यार्थीको प्रमुख रोजाइ बन्दै गएको उल्लेख गर्दै संस्थाले विद्यार्थीको “अभिभावक”को भूमिकामा समेत काम गर्ने उद्देश्यका साथ अकल्याण्डमा कार्यालय स्थापना गरेको बताए।
उनले भने, “हामी विद्यार्थीलाई नेपालबाट न्युजिल्याण्ड ल्याउने प्रक्रियामा मात्र सीमित रहन चाहँदैनौं। यहाँ आएपछि उनीहरूले भोग्ने शैक्षिक, सामाजिक, मानसिक तथा व्यावसायिक चुनौतीमा पनि साथ दिने हाम्रो प्रतिबद्धता छ।”
द नेक्स्ट अष्ट्रेलियाका निर्देशक कबिराज कडेलले विदेशमा अध्ययन गर्न आउने धेरै विद्यार्थीले सांस्कृतिक फरक, मानसिक दबाब, नयाँ वातावरणमा घुलमिल हुन कठिनाइ तथा भविष्यप्रतिको अन्योल जस्ता चुनौती सामना गर्ने गरेको उल्लेख गर्दै संस्थाले यस्ता समस्यामा समेत परामर्श र सहजीकरण गर्ने उद्देश्यले न्युजिल्याण्डमा सेवा विस्तार गरेको बताए।
उनले भने, “हाम्रो उद्देश्य विद्यार्थीलाई केवल भिसा दिलाउनु होइन, उनीहरूको सम्पूर्ण विद्यार्थी यात्राको विश्वसनीय सहयात्री बन्नु हो।”
सन् २००५ मा स्थापना भएको द नेक्स्टले विगत २१ वर्षदेखि नेपालमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। संस्थाले विद्यार्थीलाई विश्वका विभिन्न देशका विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि परामर्श, विश्वविद्यालय छनोट, आवेदन, छात्रवृत्ति, भिसा प्रक्रिया तथा करियर मार्गदर्शनका क्षेत्रमा सेवा दिँदै आएको जनाएको छ। सेवा, पारदर्शिता र विद्यार्थीकेन्द्रित परामर्शलाई प्राथमिकतामा राख्दै संस्थाले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै आएको दाबी गरेको छ।
उद्घाटन कार्यक्रममा न्युजिल्याण्डस्थित नेपाली समुदायका अगुवा, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले न्युजिल्याण्डमा बढ्दो नेपाली विद्यार्थी समुदायलाई लक्षित गर्दै स्थापना गरिएको यस्तो सेवा केन्द्रले विद्यार्थीलाई सही सूचना, समयमै सहयोग र आवश्यक मार्गदर्शन उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
