संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको ऐतिहासिक दिनको सम्झनामा गैरआवासीय नेपाली संघ न्युजिल्याण्ड ९एनआरएनए न्युजिल्याण्ड० ले यस वर्ष हेमिल्टन र इन्भरकार्गिलमा भव्य कार्यक्रमसहित एभरेष्ट डे मनाउँदै छ ।
हरेक वर्ष मे २९ मा मनाइने एभरेष्ट डे नेपालीहरूका लागि केवल एउटा उत्सव मात्र होइन, यो नेपाली साहस, पहिचान र विश्व इतिहासमा लेखिएको गौरवपूर्ण क्षणको स्मरण पनि हो । सन् १९५३ मा नेपाली मूलका महान् पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका साहसी आरोही सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यही ऐतिहासिक उपलब्धिको सम्मानमा विश्वभर रहेका नेपाली समुदायले एभरेष्ट डे मनाउँदै आएका छन् ।
एनआरएनए न्युजिल्याण्डले यस वर्षको ७३औँ एभरेष्ट डे विशेष रूपमा दक्षिण र उत्तर दुवै क्षेत्रमा रहेका नेपाली समुदायलाई समेटेर आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रममा नेपाली संस्कृति, हिमाली सभ्यता, पर्वतारोहण इतिहास तथा नेपाल–न्युजिल्याण्ड सम्बन्धलाई झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरू रहने अपेक्षा गरिएको छ ।
यस वर्षको एभरेष्ट डे इन्भरकार्गिल र हेमिल्टन शहरमा मनाइदै छ । यी दुबै शहरमा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको छ भने यो कार्यक्रममो नेपालीहरूलाई एकताबद्ध बनाउन थप मद्यत पुग्ने देखिन्छ । कार्यक्रममा नेपाली समुदायका अगुवा, पर्वतारोहणप्रेमी, स्थानीय प्रतिनिधि तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ ।
यसअघि पनि एनआरएनए न्युजिल्याण्डले अकल्याण्डसहित विभिन्न शहरहरूमा एभरेष्ट डे मनाउँदै आएको थियो । सन् २०२३ मा आयोजित ७०औँ एभरेष्ट डे कार्यक्रममा न्युजिल्याण्डका राजनीतिक नेतृत्व, पर्वतारोहणप्रेमी तथा सयौँ नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सगरमाथाको थ्रीडी मोडल प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको योगदानको सम्मान गरिएको थियो ।
एनआरएनए न्युजिल्याण्डले एभरेष्ट डे केवल पर्वतारोहणको उपलब्धि नभई नेपाल र न्युजिल्याण्डबीचको ऐतिहासिक मित्रताको प्रतीक भएको भन्दै सोही अनुसार मनाउँदै आएको छ ।
प्रवासमा रहेका नेपालीहरूका लागि एभरेष्ट डेले आफ्नो देश, संस्कृति र पहिचानसँग भावनात्मक सम्बन्ध जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
