काठमाडौं — धितोपत्र सम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । ब्युरोका प्रमुख मनोज केसीका अनुसार जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जीका आधारमा गोल्छालाई बिहीबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
ब्युरोका अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छासहित अन्य व्यक्तिहरूको मिलेमतोमा ऐनको दफा ९४, ९५, ९६ (उपदफा १) र ९८ बमोजिमको कसुर भएको आशंकामा थप अनुसन्धान अघि बढाइएको हो ।
उक्त प्रतिवेदन ब्युरोमा प्राप्त भएपछि अदालतबाट अनुमति लिएर गोल्छालाई पक्राउ गरिएको जनाइएको छ। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । यस प्रकरणमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायतको समूहबीच भएको सेयर कारोबारबारे धितोपत्र बोर्डले विस्तृत जाँचबुझ प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनमा गोल्छासहित करिब आधा दर्जन व्यक्तिको मिलेमतो भएको आशंका गरिएको छ ।
बोर्डको प्रतिवेदनमा गोल्छालाई कसुरमा सहयोग गर्ने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । यसअघि सञ्चारमाध्यमसँगको कुराकानीमा गोल्छाले भट्ट र अग्रवाल समूहले गैरकानुनी रूपमा सेयर खरिद गरेको जानकारी पाएपछि आफूले हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएको बताएका थिए ।
उनले ठूलो परिमाणमा सेयर कारोबार हुँदा विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको रकमसमेत हिनामिना भएको दाबी गर्दै उक्त विषय सञ्चालक समिति बैठकमा समेत नआएको उल्लेख गरेका थिए । आफू उक्त कारोबारबाट अन्तिम लाभग्राही नभएको र पब्लिक कम्पनीहरूको रकम दुरुपयोग हुनु कानुनविपरीत रहेको उनको भनाइ थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
