प्रसिद्ध गायिका आशा भोसले को निधन
काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही समयदेखि अस्वस्थ रहेकी भोसलेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार आइसीयूमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको निधन भएको हो। उनका छोरा आनन्दले आइतबार दिउँसो निधनको पुष्टि गरेका छन्। उनको निधनसँगै भारतीय मात्र होइन, विश्व संगीतले नै एक महत्वपूर्ण युग गुमाएको छ । करिब सात दशक लामो संगीत यात्रामा उनले हजारौँ गीतमार्फत अतुलनीय विरासत छोडेकी छन्।
उनको प्रभाव नेपालमा पनि गहिरो रूपमा परेको छ। उनले नेपाली फिल्म र गीतमा स्वर दिँदै यहाँको संगीतलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्न महत्वपूर्ण योगदान पुर्याइन्। विशेषगरी ७०–८० को दशकमा नेपाली र भारतीय संगीतकर्मीबीचको सहकार्यमा उनको आवाजले विशेष स्थान बनायो। उनका ‘मोहनी लाग्ला है’, ‘पहाडको माथि माथि’ लगायतका गीत आज पनि लोकप्रिय छन्।
भोसलेले नारायणगोपाल, प्रकाश श्रेष्ठ, शम्भुजीत बासकोटा र रञ्जित गजमेरजस्ता नेपाली संगीतकर्मीसँग सहकार्य गर्दै आधुनिक नेपाली फिल्म संगीतलाई उचाइमा पुर्याउन सहयोग गरिन्। उनको सहभागिताले नेपाली पाश्र्वगायन क्षेत्रमा आत्मविश्वास र नयाँ स्वाद थपेको मानिन्छ।
सन् १९३३ मा जन्मिएकी भोसलेको जीवन संघर्षपूर्ण थियो। प्रारम्भिक दिनमा चुनौती र अस्वीकार सामना गर्दै उनले आफ्नो छुट्टै पहिचान निर्माण गरिन्। शास्त्रीय, गजल, पपदेखि विभिन्न शैलीमा गाउन सक्ने उनको क्षमता अद्वितीय थियो।
उनले २० भन्दा बढी भाषामा गीत गाएकी छन् र विभिन्न देशमा कार्यक्रम गर्दै भारतीय संगीतलाई विश्वमञ्चमा पुर्याएकी छन्। नेपालप्रति उनको विशेष लगाव थियो र नेपाली संगीतको मौलिकता तथा गहिराइप्रति उनले सधैं प्रशंसा गर्ने गर्थिन्।
उनको निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। तर, उनका गीत र स्वरले आगामी पुस्तासम्म प्रेरणा दिइरहनेछन्।
