अमेरिकाले इरानका १० जना वरिष्ठ नेताहरूको अवस्थाबारे विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १० मिलियन डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। साथै, सूचना दिने व्यक्तिलाई आवश्यक परे सुरक्षित रूपमा अन्य देशमा स्थानान्तरण गर्न सकिने अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको “रिवार्ड्स फर जस्टिस” कार्यक्रमले शुक्रबार सार्वजनिक गरेको सूचनामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीसहित इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का अन्य ९ जना प्रमुख नेताबारे जानकारी दिने व्यक्तिलाई पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथका अनुसार हालै सार्वजनिक रूपमा देखिएका मोज्तबा खामेनी घाइते भएको र उनी गम्भीर अवस्थामा हुन सक्ने आशंका गरिएको छ। युद्ध सुरु भएको प्रारम्भिक चरणमा भएको क्षेप्यास्त्र आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित केही वरिष्ठ अधिकारीहरूको मृत्यु भएको बताइएको छ।

पुरस्कारको सूचीमा उप–प्रधान स्टाफ प्रमुख अली असघर हेजाजी, सैन्य सल्लाहकार मेजर जनरल याह्या रहिम सफावी, गृहमन्त्री ब्रिगेडियर जनरल एसकन्दर मोमेनी, गुप्तचर तथा सुरक्षा मन्त्री इस्माइल खातिब तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलगायतका नाम समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी व्यक्तिहरूले आईआरजीसीका विभिन्न संरचनालाई निर्देशन र नेतृत्व गर्दै विश्वभर आतंकवादी गतिविधिको योजना बनाउने, समन्वय गर्ने र सञ्चालन गर्ने काम गर्दै आएका छन्।”

सूचीमा रहेका चार जना नेताहरूको नाम भने सार्वजनिक नगरी उनीहरूको पदका आधारमा मात्र चिनाइएको छ। तीमध्ये रक्षा परिषद्का सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयका सैन्य प्रमुख तथा आईआरजीसीका कमाण्डर रहेका छन्।“ यी इरानी नेताहरूबारे तपाईंलाई जानकारी छ भने हामीलाई सूचना पठाउनुहोस्। तपाईं पुरस्कार र सुरक्षित स्थानान्तरणका लागि योग्य हुन सक्नुहुन्छ,” कार्यक्रमले सामाजिक सञ्जालमार्फत अपिल गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कार सम्बन्धी पोस्टर अंग्रेजी र फारसी भाषामा सार्वजनिक गरेको छ, जसलाई इरानी नागरिकहरूलाई लक्षित अपिलका रूपमा हेरिएको छ।यसअघि पनि अमेरिकाले इरानी तेल ढुवानी र आईआरजीसीको आर्थिक सञ्जालबारे सूचना दिने व्यक्तिलाई १५ मिलियन डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो। साथै, युद्ध सुरु हुनुअघि सीआईएले इरानभित्र रहेका सम्भावित सूचनादातालाई सम्पर्क गर्ने तरिकाबारे निर्देशन दिएको बताइएको छ।