काठमाडौं । करिब एक दशकअघि युवा जोश र नयाँ राजनीतिक सोचसहित काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर राष्ट्रिय चर्चामा आएकी रञ्जु दर्शना अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। वैकल्पिक राजनीतिको आवाज उठाउँदै सार्वजनिक जीवनमा सक्रिय रहँदै आएकी रञ्जुले बिहीबार सम्पन्न निर्वाचनमा १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
रञ्जु दर्शनाको राजनीतिक यात्रा भने निकै कम उमेरबाट सुरु भएको हो। १७ वर्षकै उमेरमा उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आबद्ध हुँदै वैकल्पिक राजनीतिको अभियानमा जोडिएकी थिइन्। त्यसबेला नेपालमा विभिन्न राजनीतिक दलहरूले बारम्बार बन्द–हड्ताल घोषणा गर्ने क्रम बढिरहेको थियो। नागरिकलाई यस्तो बन्दले सास्ती दिएको भन्दै रञ्जु त्यसको विरोधमा सडक आन्दोलनमा सक्रिय भइन्। उनको सहभागितामा ‘बन्द बहिष्कार अभियान’ समेत सञ्चालन भएको थियो, जसले युवापुस्तामाझ नयाँ बहस जन्माएको थियो।
राजनीतिक अभियानसँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहिन्। २०७२ सालको महाभूकम्पपछि राहत वितरण र पुनःस्थापनाको काममा उनले सक्रिय भूमिका निर्वाह गरिन्। भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले थालेका आन्दोलनमा पनि उनी सहयोगी भूमिकामा देखिएकी थिइन्।
२०७४ सालको स्थानीय तह निर्वाचन रञ्जु दर्शनाको राजनीतिक जीवनको महत्वपूर्ण मोड बन्यो। त्यतिबेला २२ वर्षको उमेरमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन्। ‘काठमाडौं विश्वकै सुन्दर सहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनको उम्मेदवारीले देशभर चर्चा पायो। चुनावमा उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्। यद्यपि त्यो निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका थिए, तर रञ्जुको उम्मेदवारीले नेपाली राजनीतिमा नयाँ पुस्ताको सम्भावनाबारे बहस सुरु गराएको थियो।
२०७८ सालमा विवेकशील पार्टीभित्रको आन्तरिक विवादपछि उनले पार्टीबाट राजीनामा दिइन् र केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी उनले त्यतिबेला सफलता पाउन सकिनन्। उक्त निर्वाचनमा उनले करिब ६०० मत मात्र प्राप्त गरेकी थिइन्।
तर राजनीतिक यात्रामा आएको त्यो असफलताले उनको अभियान रोकिएन। २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै पार्टीको केन्द्रीय सदस्य बनिन्। त्यही पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएकी रञ्जुले यसपटक भने मतदाताको विश्वास जित्दै प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी हुन्।
काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जु दर्शना स्नातक तहसम्म अध्ययन गरेकी छन्। युवापुस्ताको प्रतिनिधित्व गर्दै वैकल्पिक राजनीति, सुशासन र पारदर्शिताको पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएकी छन्।
मेयरको चुनावबाट सुरु भएको उनको राजनीतिक यात्रा अब संघीय संसदसम्म पुगेको छ। नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी रञ्जु दर्शनाको आगामी भूमिका र राजनीतिक योगदानलाई धेरैले चासोका साथ हेरिरहेका छन्।
