तामाङ समुदायले अस्ट्रेलियाको सिड्नीस्थित पारामाटामा सोनाम ल्होछार–२८६२ (घोडा वर्ष) विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएका छन्। तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सको आयोजनामा शनिबार पारामाटास्थित रिभरसाइड थिएटरमा कार्यक्रम सम्पन्न भएको हो।

ल्होछार विशेष कार्यक्रममा तामाङ सोसाइटी अफ अफ न्यू साउथ वेल्सका पूर्वअध्यक्षहरू तथा समुदायका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिहाद दिपले प्रवासमा रहेर पनि तामाङ समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले बहुसांस्कृतिक अस्ट्रेलियामा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायको पहिचानलाई थप मजबुत बनाउने बताए। नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोडिराख्न यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा सञ्जीव शर्माले तामाङ समुदायले अस्ट्रेलियामा आफ्नो संस्कृति जगेर्ना गर्न गरिरहेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव र एकता बलियो बनाउने विश्वास व्यक्त गरे। स्थानीय काउन्सिलर भद्र वाइबाले तामाङ सोसाइटीले समुदायको पहिचान जगेर्ना गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिय सहभागिता गर्वको विषय भएको बताए।

तामाङ सोसाइटी अफ अस्ट्रेलियाका संस्थापक तथा सल्लाहकार गणेश तामाङले तामाङ समुदायको एकता, भाषा, संस्कृति र धर्मको संरक्षण नै संस्थाको मूल उद्देश्य रहेको स्पष्ट गरे। उनले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताए।

तामाङ सोसाइटीका अध्यक्ष अविरल तामाङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार तथा दर्शकप्रति धन्यवाद व्यक्त गरे। उनले तामाङ समाजको मूल आधार भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्द्धन रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र स्तरीय कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाए।

कार्यक्रममा सेलो गायक आश्मान लोप्चन आले तथा लोकप्रिय गायक तथा संगीतकार दिल तामाङको प्रस्तुतीले दर्शकहरूलाई उत्साहित बनाएको थियो।