अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को डिसेम्बर महिनामा मात्र ९८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्, जुन हालसम्मकै मासिक उच्च संख्या हो। डिपोर्ट हुनेमध्ये ९२ जना पुरुष र ६ जना महिला रहेका छन्।

डिसेम्बर महिनामा एकैपटक ७५ जना नेपाली चार्टर्ड विमानमार्फत अमेरिकाबाट डिपोर्ट गरिएका थिए भने बाँकी २३ जना सोही महिनाभर अलग–अलग समयमा फर्काइएका हुन्। यसअघि नोभेम्बरमा ८० जना, अक्टोबरमा ३८ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भएका थिए।

तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२ र जुलाईमा १७ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। तुलनात्मक रूपमा वर्षको सुरुआती केही महिनामा संख्या कम देखिए पनि पछिल्ला महिनामा तीव्र वृद्धि भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अध्यागमन नीतिमा कडाइ गरिएपछि वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरू देशनिकालाको जोखिममा परेका छन्। डिपोर्ट भएर नेपाल फर्काइएकाहरूलाई अध्यागमन विभागले सामान्य प्रक्रिया पूरा गरी आवश्यक परे मानव बेचबिखन अनुसन्धान ब्यूरोमार्फत थप जाँच गर्ने गरेको छ।

नेपालले अमेरिकाबाट डिपोर्ट हुने आफ्ना नागरिकलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले आवश्यक यात्रा कागजात उपलब्ध गराउँदै यो प्रक्रियालाई सहजीकरण गरिरहेको छ। यद्यपि, पछिल्लो समय तेस्रो मुलुक हुँदै नेपाल फर्कने डिपोर्ट नेपालीको संख्या पनि बढ्दै गएको छ।