गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएको बृहत् एकता घोषणापछि गठन गरिएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ ।
संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियामा क्रियाशील महिला अभियन्ता इन्द्रा बनलाई शनिबार समितिमा समावेश गरिएको हो । इन्द्रा बन थपिएसँगै स्टेरिङ कमिटीको सदस्य संख्या ११ पुगेको छ ।
यसअघि दुवै पक्षबाट पाँच–पाँच जना गरी १० सदस्यको नाम सार्वजनिक गरिएको थियो । समितिमा अनिवार्य रूपमा महिला सदस्य समावेश गर्नुपर्ने माग उठेपछि संघको अभियानमा लामो समयदेखि सक्रिय बनलाई चयन गरिएको बताइएको छ ।
महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक आइतबार बस्ने तयारी गरिएको छ । समितिका अन्य सदस्यहरूमा डा. बद्री केसी (रुस), महेश कुमार श्रेष्ठ (जापान), रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बीआर लामा (अमेरिका) रहेका छन् ।
