मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्धको कारबाहीलाई थप तीव्र बनाएको छ । यसक्रममा सेलायाङ बारु क्षेत्रमा गरिएको विशेष अभियानबाट ८४३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८०८ पुरुष र ३५ महिला रहेका छन् भने उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।

सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीका अनुसार विदेशी श्रमिकको अनियन्त्रित प्रवेश र सडक छेउमा अवैध रूपमा व्यापार सञ्चालन बढेपछि अभियान सुरु गरिएको हो ।

पक्राउ परेकामा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक रहेका छन् । यद्यपि, देशअनुसारको संख्या सार्वजनिक गरिएको छैन ।

इमिग्रेसन विभागका अनुसार अधिकांश पक्राउ परेकासँग परिचय खुल्ने कागजात नभएको, भिसा वा पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको तथा नक्कली वा अमान्य कागजात प्रयोग गरेको आरोप छ । उनीहरूलाई थप अनुसन्धानका लागि सेमेनिह इमिग्रेसन डिपो लगिएको छ ।

सस्तो भाडाका कारण सिलायाङ बारु क्षेत्रमा विदेशी श्रमिकको संख्या बढी रहेको बताइएको छ । आमिरुद्दीनले अवैध आप्रवासी पहिचान, मुद्दा दायर र देश निकाला गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै रोजगारदातालाई वैध प्रक्रियामार्फत मात्रै श्रमिक भर्ना गर्न आग्रह गरेका छन् ।