न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले दक्षिण कोरियासँगको ऊर्जा सहकार्य र क्षेत्रीय स्थायित्वबारे त्यहाँका राष्ट्रपति ली जे म्युङसँग टेलिफोन संवाद गरेका छन्। इन्धन आपूर्ति, आर्थिक स्थायित्व तथा क्षेत्रीय सुरक्षाका विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री लक्सनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
वार्ताका क्रममा दक्षिण कोरियाबाट न्युजिल्याण्डमा करिब ५१ प्रतिशत प्रशोधित इन्धन आपूर्ति हुने भएकाले वर्तमान परिस्थितिमा स्थायित्व कायम गर्नु अत्यन्त आवश्यक रहेकोमा जोड दिइएको थियो। दुवै पक्षले बढ्दो तनावलाई कम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिन शान्तिपूर्ण वातावरण आवश्यक रहेको उल्लेख गरेका छन्।
गत वर्ष घोषणा गरिएको न्युजिल्याण्ड–दक्षिण कोरिया व्यापक रणनीतिक साझेदारीले यस्ता चुनौतीहरूको सामना गर्न महत्वपूर्ण आधार प्रदान गरेको पनि बताइएको छ। उक्त साझेदारीमार्फत ऊर्जा आपूर्ति सुदृढीकरण, आर्थिक सुरक्षा तथा क्षेत्रीय स्थायित्वका क्षेत्रमा घनिष्ठ सहकार्य अगाडि बढाउने सहमति भएको छ।
