भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ।

२ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमै १ सय ५९ रनमा समेटियो।अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा भारतको जितसँगै करिब १ लाख दर्शक उत्साहित बने। मैदानमा उपस्थित अधिकांश समर्थक भारतका थिए।

सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा यही मैदानमा अस्ट्रेलियासँग पराजित भएको भारतले यसपटक भने उपाधि जित्दै अघिल्लो हारको बदला लिएको छ।न्युजिल्यान्ड भने फेरि एकपटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भयो। उसले अझैसम्म सेतो बलको विश्वकप जित्न सकेको छैन।

न्युजिल्यान्डका लागि ओपनर टिम सेइफर्टले २६ बलमा २ चौका र ५ छक्कासहित ५२ रन बनाए भने कप्तान मिचेल सान्टनरले ३५ बलमा ३ चौका र २ छक्कासहित ४३ रन जोडे।भारतका जस्प्रित बुमराहले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए भने अक्षर पटेलले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए।