काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिन थालेका छन्। दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पूर्वसञ्चारमन्त्री खरेलदेखि श्रमजीवी पत्रकारका हक–अधिकारका लागि संघर्षरत जन्मदेव जैसी, चर्चित पत्रकार राजिब खत्री र कविर राणासम्म यसपटकको निर्वाचनमा उम्मेदवार बनेका छन्।
पूर्वसञ्चारमन्त्री खरेल लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए। खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मंगलबार पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका हुन्। पार्टीका अनुसार खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। रास्वपाले खरेललाई सुशासन, पारदर्शिता र उत्तरदायी शासन प्रणालीको एजेण्डासहित अघि सारेको जनाएको छ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पनि पूर्व पत्रकार हुन्। उनी दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका सिवाकोटीले दोलखाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले दोलखामा पूर्वाधार विकास र युवालाई स्वरोजगारसँग जोड्ने योजना अघि सार्ने प्रतिबद्धता जनाएका छन्।
लामो समयदेखि श्रमजीवी पत्रकारको अधिकारका लागि संघर्ष गर्दै आएका जन्मदेव जैसी पनि यसपटकको निर्वाचनमा उम्मेदवार बनेका छन्। उनी भक्तपुर–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिने भएका छन्। आज मनोनयन दर्ता गराउने तयारीमा रहेका जैसीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै लेखेका छन्, “लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक संघर्षमा सक्रिय रहँदै आएको म आज एक जिम्मेवार निर्णयसहित तपाईंहरूमाझ आएको छु। म प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भक्तपुर–२ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दछु।” उनले श्रमजीवी, सञ्चारकर्मी र आम नागरिकका अधिकारका लागि संसदमा आवाज उठाउने बताएका छन्।
यसैगरी अर्का चर्चित पत्रकार राजिब खत्री पनि भक्तपुरबाट उम्मेदवार बनेका छन्। लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय खत्रीले भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, शिक्षा र स्वास्थ्यलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको जनाइएको छ। उनी युवालाई राजनीतिमा सक्रिय बनाउने र स्थानीय विकासलाई प्राथमिकतामा राख्ने योजना लिएर चुनावी मैदानमा उत्रिएको स्रोतको भनाइ छ।
यस्तै, कविर राणा पनि नेपाली कांग्रेसबाट भक्तपुरको उम्मेदवार बनेका छन्। पत्रकारितामार्फत समाजका विकृति, विसंगति र जनसरोकारका विषय उठाउँदै आएका राणाले संसदमा पुगेर नागरिकका समस्यालाई नीतिगत तहमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
