रामहरि पाण्डे । न्युजिल्याण्डमा नेपाली समुदायको तीव्र विस्तारसँगै यहाँ नेपाली कला, संस्कृति र संगीतसम्बन्धी विविध गतिविधि उल्लेखनीय रूपमा बढ्दै गएको छ। पछिल्ला केही वर्षयता नेपालबाट विभिन्न प्रस्तुतिका लागि आउने कलाकारहरूको लर्कोसँगै न्युजिल्याण्डमा रहेका प्रवासी नेपालीका लागि सांगीतिक माहोल उत्साहजनक बन्दै गएको छ।

न्युजिल्याण्डमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन। तर विभिन्न सामाजिक संस्थाहरूले बेला–बेला सार्वजनिक गर्ने अनुमानित तथ्याङ्कअनुसार करिब ४० हजारभन्दा बढी नेपालीभाषी बसोबास गर्दै आएका छन्। जनसंख्या बढेसँगै नेपाली समुदायका कार्यक्रम, पर्व–उत्सव र सांस्कृतिक गतिविधिहरू पनि व्यापक हुँदै गएका छन्।

विगत दुई वर्षयता नेपालबाट न्युजिल्याण्डमा प्रस्तुति दिन आउने कलाकारहरूको लर्को नै लाग्न थालेको छ। विशेषगरी सांगीतिक कार्यक्रम आयोजना गर्ने इभेन्ट कम्पनीहरू, नेपाली समुदायले स्थापना गरेका सामाजिक संस्थाहरू तथा नेपालीभाषी भुटानी समुदायले नेपालबाट कलाकार ल्याएर यहाँ सांगीतिक कार्यक्रम, सांस्कृतिक महोत्सव र विशेष कन्सर्ट आयोजना गर्दै आएका छन्। यस्ता कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र नभई प्रवासमा रहेका नेपालीबीच भाषा, कला र संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेका छन्।

नेपाली सांगीतिक माहोललाई जीवन्त दिन न्युजिल्याण्डमा दोस्रोपटक नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्य आउँदै छ। न्युजिल्याण्डमा नेपाली समुदायबीच परिचित लाखे इभेन्ट्सको पहलमा नेपथ्य ब्यान्ड अकल्याण्डमा आफ्नो प्रस्तुति दिन आउन लागेको हो। ब्यान्डले आगामी मे १० अर्थात २७ वैशाखमा अकल्याण्डमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। आयोजक संस्था लाखेले उक्त कार्यक्रममा चार हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ। न्युजिल्याण्डमा रहेका नेपालीहरूले यस कार्यक्रमलाई विशेष महत्वका साथ लिँदै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। नेपथ्य यसअघि सन् २०१७ मा न्युजिल्याण्ड आएर प्रस्तुति दिएको थियो।

त्यसैगरी न्युजिल्याण्ड नेपाल सोसाइटीले पनि चर्चित लोकगायक प्रकाश सपुतलाई न्युजिल्याण्ड आमन्त्रण गरेको छ। गायक सपुतले आगामी अप्रिल ११ मा अकल्याण्डमा आयोजना हुने ‘नेपाल फेस्टिभल २०२६’ मा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको छ। आयोजक संस्थाका अनुसार उक्त कार्यक्रममा न्युजिल्याण्ड सरकारका विशिष्ट प्रतिनिधि, सांसद, मेयर लगायतका व्यक्तिहरूको सहभागिता रहनेछ।

सोसाइटीले हरेक वर्ष आयोजना गर्दै आएको ‘नेपाल फेस्टिभल’ नेपाली कला, संस्कृति र नेपाली परम्परालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा परिचित छ। कार्यक्रममा नेपाली संगीत, नृत्य, सांस्कृतिक झाँकी, नेपाली परिकारका स्टल तथा हस्तकला प्रदर्शनीसहित विविध कार्यक्रम समावेश गरिनेछ। सोसाइटीका अध्यक्ष रोशन खड्काका अनुसार अघिल्ला वर्षहरूभन्दा यस वर्षको फेस्टिभल अझ फरक र भव्य हुने अपेक्षा गरिएको छ। उनले कार्यक्रममा न्युजिल्याण्ड सरकारका महत्वपूर्ण अधिकारीहरूसहित करिब तीन हजारभन्दा बढी नेपाली तथा स्थानीयको सहभागिता रहने अनुमान गरिएको जानकारी दिए।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले पनि अकल्याण्डमा आयोजना हुने नेपाल फेस्टिभलको करिब एक सातापछि क्राइस्टचर्चमा पनि ‘नेपाल फेस्टिभल २०२६’ आयोजना गर्दैछ। उक्त कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्मालाई आमन्त्रण गरिएको छ। आगामी अप्रिल १८ मा हुने कार्यक्रममा गायक शर्माले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

एनआरएनए न्युजिल्याण्डका अध्यक्ष अच्युत अर्यालका अनुसार उक्त कार्यक्रममा पनि न्युजिल्याण्ड सरकारका प्रतिनिधि, सांसद तथा अष्ट्रेलिया र न्युजिल्याण्डका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। उनका अनुसार क्राइस्टचर्चमा गरिने नेपाल फेस्टिभल भव्य हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली कला र संस्कृति झल्कने पेन्टिङ, लाखे नाच, धिमे बाजा, नेपाली परिकारहरू तथा विभिन्न नेपाली खेलहरू समावेश गरिएका छन्।

नेपाल फेस्टिभलका लागि आयोजक संस्थाहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। कार्यक्रमको प्रवर्द्धनका लागि छुट्टै प्रचार टोली समेत गठन गरिएको छ।

यसैगरी नेपाली कलाकारलाई न्युजिल्याण्ड ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको सम्बन्ध इभेन्ट्सले गत मार्च २८ र २९ अर्थात चैत्र १४ र १५ गते नेपाली सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइलाई न्युजिल्याण्ड ल्याएको थियो। उक्त कार्यक्रममा सहभागी दर्शकहरूले नेपाली गीत–संगीतको भरपूर आनन्द लिएका थिए। विशेषगरी युवापुस्तालाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूका लागि टिकटमा छुटको व्यवस्था गरिएको थियो, जसका कारण युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

न्युजिल्याण्डमा नेपाली कलाकारहरूको बढ्दो आगमनले यहाँको नेपाली समुदायलाई केवल मनोरञ्जन मात्र नभई आफ्नो सांस्कृतिक पहिचान जोगाइराख्ने अवसर पनि प्रदान गरिरहेको न्युजिल्याण्डका लागि नेपाली वाणिज्यदूत दिनेश खड्काले बताए। उनले भने, “प्रवासमा बस्दा पनि संगीत र संस्कृतिको माध्यमबाट नेपालीपनलाई जीवन्त राख्ने यस्ता प्रयास आगामी दिनहरूमा अझ विस्तार हुँदै जाने अपेक्षा गरिएको छ।”

त्यस्तै न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जनले नेपालीहरूको संख्या बढ्दै जाँदा नेपालबाट कलाकार आउने क्रम पनि बढेको बताए। उनका अनुसार पछिल्ला समय नेपाली समुदायले सांस्कृतिक कार्यक्रमहरूलाई सक्रिय बनाउँदै लगेकाले यसले नयाँ पुस्ताका नेपालीहरूमा नेपालीपन झल्काउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।