नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन्। ‘द अष्ट्रेलियन’ले सार्वजनिक गरेको सन् २०२६ को सूचीअनुसार उनीहरू क्रमशः १५०औं र १५१औं स्थानमा रहेका छन्।
घले दम्पती लगातार १८ वर्षदेखि उक्त सूचीमा स्थान सुरक्षित गर्न सफल हुँदै आएका छन्। उनीहरू पहिलोपटक सन् २००९ मा शीर्ष २५० धनीहरूको सूचीमा समावेश भएका थिए।
यो दम्पती मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक हुन्। सार्वजनिक विवरणअनुसार उनीहरूले संयुक्त रूपमा करिब १ अर्ब २१ करोड डलर बराबरको सम्पत्ति आर्जन गरेका छन्।
नेपालमा जन्मिएका घले र गुरुङ सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया बसाइँ सरेका थिए। उनीहरूले सन् १९९६ मा स्थापना गरेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी हाल मेलबर्न र सिड्नीमा क्याम्पस सञ्चालन गर्दै अष्ट्रेलियाका प्रमुख निजी उच्च शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भएको छ।
शैक्षिक क्षेत्रमा मुख्य लगानी भए पनि उनीहरू घरजग्गा व्यवसायमा पनि सक्रिय छन्। मेलबर्नका विभिन्न स्थानमा व्यावसायिक सम्पत्तिहरूमा उनीहरूको लगानी रहेको छ, जसमा धेरै स्थानमा शैक्षिक संस्थाका क्याम्पस सञ्चालन भइरहेका छन्।
उनीहरूको प्रमुख सम्पत्तिमध्ये मेलबर्न सहरको केन्द्रीय क्षेत्रमा रहेको ३,९०० वर्ग मिटर क्षेत्रफलको जग्गा पनि एक हो, जसलाई भविष्यमा पुनःविकास गर्ने योजना रहेको जनाइएको छ। पछिल्लो समय कार्यालय क्षेत्रको माग घटेपछि उक्त परियोजनालाई विलासी होटल तथा सेवा अपार्टमेन्टमा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ।
शिक्षा र व्यवसायबाहेक घले दम्पती विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रमा पनि सक्रिय छन्। उनीहरूले नेपाल र बेल्जियममा होटल व्यवसायमा समेत लगानी गर्दै आएका छन्, जसअन्तर्गत काठमाडौंमा नयाँ होटल सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।
शेष घले गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षसमेत हुन्।
