टोङ्गारिओ राष्ट्रिय उद्यान क्षेत्रमा हिजो सोमबारदेखि फैलिरहेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी लागेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि दुई दर्जनभन्दा बढी दमकल तथा नौवटा हेलिकप्टरको प्रयोग गरिएको थियो। तर, आगो नियन्त्रणमा आउनुभन्दा बढी फैलिरहेको अवस्थाको पुष्टि गरिएको छ।

फायर एन्ड इमर्जेन्सी न्यूजिल्यान्ड एफइएननजेडका अनुसार जङ्गलमा फैलिएको आगो नियन्त्रण गर्न कठिन भइरहेको छ। आज बिहानको हावाको दिशा परिवर्तनले आगो झनै तीव्र गतिमा फैलिने सम्भावना रहेको चेतावनी दिइएको छ। घटनास्थलमा उद्धारकर्मीहरूले सोमबार रातिसम्म करिब ५० प्रतिशत आगोलाई नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन्।

एफइएननजेडका सहायक कमाण्डर तथा इन्सिडेन्ट कन्ट्रोलर रिनि पोटेका अनुसार आगो भाग्यवश गत महिनाको आगलागीबाट जलेको क्षेत्रमा बढ्दै गएकाले दक्षिणी भाग नियन्त्रणमा लिन हवाई उद्धार साधन प्रभावकारी देखिएका छन्। तर मंगलबार बिहानको तीव्र र अनपेक्षित हावाप्रवाहले आगो अझै नजलेका क्षेत्रमा फैलिन सक्ने खतरा उच्च रहेको उनले बताएकी छिन्।

आगलागी नियन्त्रणका लागि भइरहेका निरन्तर प्रयासका बीच, संरक्षण विभागले टोंगारिरो अल्पाइन क्रसिङ मंगलबारका लागि बन्द गरेको छ। मंगलटेपोपो हट, टोंगारिरो अल्पाइन क्रसिङ तथा टोंगारिरो नर्दन सर्किटका सबै बुकिङ सुरक्षा कारण रद्द गरिएको छ। साथै, आगलागीबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै व्हाकापापा गाउँ नजिकै रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ।

सोही क्षेत्रमा गत महिना पनि भीषण आगलागी भएको थियो।