काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति प्रक्रियामा सुधार गर्दै टोकन प्रणाली पूर्ण रूपमा हटाएको छ। अबदेखि आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा बसेको मन्त्री, सविच र विभागिय प्रमुखहरुको बैठकले सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले सो निर्णय गरेको हो। श्रममन्त्री दीपक कुमार साहको उपस्थितिमा सम्पन्न बैठकमा शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमाथि विस्तृत छलफल गरिएको थियो।

बैठकले वैदेशिक रोजगारी व्यवस्थापनलाई थप सुदृढ बनाउन थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय पनि गरेको छ। साथै, श्रमिकहरूको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धनमार्फत आन्तरिक रोजगारी सिर्जना गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू पारित भएका छन्।

मन्त्रालयले यी सुधारात्मक कदमले सेवाग्राहीलाई सहजता दिने र वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता तथा दक्षता बढाउने विश्वास व्यक्त गरेको छ।