खाडी क्षेत्रमा कार्यरत ५० हजारभन्दा बढी नेपाली श्रमिकले आफ्नो अवस्थाबारे सरकारलाई जानकारी गराएका छन्। अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रमा बढ्दो तनावपछि सरकारले त्यहाँ रहेका नेपालीको विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।

त्यसपछि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म ५१ हजार ४०५ नेपाली श्रमिकले आफ्नो विवरण दर्ता गराएका छन्। विभागले १९ फागुनदेखि अनलाइन दर्ता प्रणाली सुरु गरेको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार दर्ता गरिएका विवरणको आधारमा श्रमिकको अवस्थाबारे मूल्याङ्कन गरी आवश्यक परे प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अघि बढाइनेछ। उनले असुरक्षित अवस्थामा रहेको जानकारी दिएका नेपालीबारे सम्बन्धित दूतावासमार्फत थप जानकारी संकलन गरिने र जोखिम बढी भए उद्धार गरिने बताए।

समस्यामा परेका नेपालीका लागि रोजगारदातासँग पनि समन्वय गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। खाडी क्षेत्रमा रहेका सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी दिन अनलाइन फाराम भर्न आग्रह गरिएको छ। तर, कति जनाले आफू सुरक्षित वा असुरक्षित रहेको विवरण दिएका छन् भन्ने तथ्याङ्क भने सार्वजनिक गरिएको छैन।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इरान युद्धका कारण काठमाडौं र खाडी मुलुकबीचको हवाई सेवा करिब १० दिन बन्द भएको थियो। हाल यूएईबाट आंशिक रूपमा उडान भइरहेको भए पनि दोहा–काठमाडौं उडान अझै सञ्चालनमा आएको छैन। उडान अवरुद्ध हुँदा सयौँ यात्रु विभिन्न सहरमा अलपत्र परेका छन् भने धेरै नेपाली श्रमिक स्वदेश फर्कन पाएका छैनन्।

यसैबीच इरानी मिसाइल आक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। आबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो। उनी सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

खाडी क्षेत्रमा जारी आक्रमणका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमा त्रास फैलिएको छ। यद्यपि उद्योग–व्यवसाय पूर्ण रूपमा बन्द नभए पनि निर्माण तथा तेल–ग्यास परियोजनामा भने केही असर परेको छ, जहाँ ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्।