काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीचको विवादका कारण थाइल्यान्डमा हुने ‘फिफा सिरिज २०२६’ मा सहभागी हुने अवसर नेपाली महिला टोलीले गुमाएको छ। यी दुईबीच देखिएको विवादकै कारण महिला टोलीलाई महत्वपूर्ण प्रतियोगिताबाट बाहिर राखिएको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०३१ को विश्वकप खेल्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको थियो। तर आवश्यक अन्तर्राष्ट्रिय अनुभवबाट टोली वञ्चित रहँदै आएको छ। एन्फा निलम्बनकै अवस्थामा पुरुष टोली भने एएफसी एसियन कप छनोट खेल्न लाओस पुगेको थियो।

महिला टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै खेलाडीको मेहनत र अवसरमाथि अन्याय भएको संकेत दिएकी छन्। खेल्ने अवसर गुम्दा खेलाडीहरू निराश मात्र होइन, आक्रोशित पनि बनेका छन्।

राखेपले एन्फालाई निलम्बन गरेपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न नसक्दा स्थिति झन् जटिल बनेको छ। उता एन्फामाथि भने निलम्बनलाई बहाना बनाएर अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टोलीलाई टाढा राखिएको आरोप लागेको छ। केही खेलकुद अधिकारीहरूका अनुसार यस विवादको पछाडि शक्ति संघर्ष र रणनीतिक दाउपेच पनि जोडिएको हुनसक्छ।