न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित भइरहेका बेला देशको आवश्यक आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन् ।

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ्गसँग टेलिफोन वार्तापछि उनले न्युजिल्याण्डको इन्धन आपूर्ति व्यवस्थापनमा द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउने सहमति भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री लक्सनका अनुसार न्युजिल्याण्डमा प्रयोग हुने करिब एकतिहाइ इन्धन सिंगापुरमा प्रशोधन हुने भएकाले दुई देशबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको छ। उनले इन्धन लगायत अत्यावश्यक वस्तुहरूको निरन्तर आपूर्ति कायम राख्न दुवै देश प्रतिबद्ध रहेको बताए ।

आगामी मे महिनामा सिंगापुर भ्रमणका क्रममा अत्यावश्यक वस्तु व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको पनि उनले बताए। उक्त सम्झौताले इन्धन, खाद्यान्न लगायतका वस्तुको आपूर्ति श्रृंखला सहज बनाउने अपेक्षा गरिएको छ। हालको चुनौतीपूर्ण आपूर्ति अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा थप सहकार्यका सम्भावनाबारे पनि दुवै प्रधानमन्त्रीबीच छलफल भएको जनाइएको छ।