काठमाडौं । संयुक्त राज्य अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १२० भन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर उडानमार्फत नेपाल फर्काएको छ। अमेरिकास्थित नेपाली दूतावास स्रोतका अनुसार उनीहरू श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गराउने कार्यक्रम रहेको छ ।
दूतावासले केही दिनअघि नै निष्कासन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि अमेरिकाबाट ठूलो संख्यामा नेपाली ल्याइँदै गरेको पुष्टि गरेको छ।
स्रोतका अनुसार निष्कासितमध्ये केहीले राहदानी नष्ट गरी लुकिछिपी बस्दै आएका थिए भने केही मेक्सिको सीमाना हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। सानो संख्यामा निष्कासन गर्दा नियमित वा भाडाको उडान प्रयोग गर्ने गरिए पनि ठूलो समूह हुँदा विशेष चार्टर उडान प्रयोग गर्ने गरिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले निष्कासित व्यक्तिहरूको विवरण अध्यागमन विभागलाई उपलब्ध गराउने र विमानस्थलमा अवतरणपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाउने प्रचलन छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडाइका साथ आप्रवासन नीति कार्यान्वयन गरेपछि अवैधरूपमा बस्दै आएका नेपालीहरू निष्कासनमा परेका हुन्। ट्रम्पको दोस्रो कार्यकालमा हालसम्म करिब ६०० नेपाली निष्कासित भइसकेका छन्। यसअघि जनवरी २० मा एकैपटक ८० जना नेपाली विशेष उडानमार्फत काठमाडौं ल्याइएका थिए, जसमा १ महिला र ७९ पुरुष थिए। डिसेम्बरमा पनि एकै दिन ७५ जना ९६९ पुरुष र ६ महिला० निष्कासित भएका थिए।
नेपालको अध्यागमन विभागका अनुसार जनवरी २०२६ मा मात्र १०१ नेपाली अमेरिकाबाट निष्कासित भएका छन्, जसमा ४ जना महिला छन्। डिसेम्बरमा ९८ र नोभेम्बरमा ८० जना निष्कासनमा परेका थिए। सन् २०२५ भरि पनि हरेक महिना उल्लेख्य संख्यामा नेपाली निष्कासनमा परेका देखिन्छन्, पछिल्ला महिनाहरूमा संख्या तीव्र रूपमा बढेको छ।
निष्कासितमध्ये अधिकांशले मानव तस्करलाई ८० लाखदेखि १ करोड रुपैयाँसम्म बुझाएर मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपाल आइपुगेपछि उनीहरूलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउने गरेको छ। सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइने भए पनि लिखित उजुरी परेमा विस्तृत अनुसन्धान अघि बढाइन्छ। हालसम्म करिब दुई दर्जन उजुरी परेको जनाइएको छ।
