न्युजिल्याण्डमा आफ्नो शाखा स्थापनाको प्रतिक्षामा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले मंगलबारदेखि न्युजिल्याण्डमा आफ्ना सेवा विस्तारका लागि शाखा कार्यालय स्थापना गरेको छ। यसअघि नेपाल र अष्ट्रेलियाबाट न्युजिल्याण्डमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले अब न्युजिल्याण्डबाट पनि सो सुविधा उपलब्ध गराउन सुरु गरेको छ।
आज मंगलबार अकल्याण्डमा भएको उद्घाटन समारोहमा एक्सपर्ट एजुकेसनका ग्लोबल निर्देशक बद्री अर्याल र न्युजिल्याण्डका लागि नेपाली बाणिज्यदूत दिनेश खड्काले संयुक्त रूपमा कार्यालय उद्घाटन गर्नु भएको थियो।
उद्घाटनपछि हिमालपारी मिडियासँग कुरा गर्दै ग्लोबल निर्देशक अर्यालले भन्नुभयो, “नेपाल तथा अन्य देशका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न न्युजिल्याण्ड आउँदा सहज मार्गदर्शन आवश्यक हुन्छ। उनीहरूको हित सुनिश्चित गर्न यही कारणले हाम्रो शाखा स्थापना गरिएको हो। विद्यार्थीलाई भिसा प्रक्रियामा अघि बढाउँदा राम्रा र नराम्रा पक्षको पूर्ण जानकारी प्रदान गर्नु हाम्रो प्रमुख प्राथमिकता हो। यसै कारण हामी विद्यार्थीलाई यथार्थपरक र भरोसायोग्य जानकारी दिने प्रतिवद्धता कायम राख्छौं।”
उहाँले थप्नुभयो, ‘न्युजिल्याण्डमा पहिले शाखा नहुँदा पनि नेपाल लगायत विभिन्न देशका चार सयभन्दा बढी विद्यार्थी एक्सपर्ट एजुकेसनमार्फत न्युजिल्याण्ड आएका छन्।’ साथै, यहाँका कलेजहरू र भौगोलिक वातावरणको कम जानकारी भएका कारण विद्यार्थीहरूको रोजाईमा सहजीकरण गर्न शाखा स्थापना गरिएको बताउनुभयो। “हाम्रो उद्देश्य विद्यार्थीलाई उज्ज्वल भविष्यको लागि स्पष्ट मार्गदर्शन प्रदान गर्नु हो। न्युजिल्याण्डमा रहेको कार्यालयले विद्यार्थीको उच्च शिक्षा हासिल गर्न थप सहजता र विश्वासिलो सेवा सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो।
उद्घाटन कार्यक्रममा फाउन्डर सन्जिव शर्मा, निर्देशकहरू सान काफ्ले, सुर्या पोखरेल, बसन्त पोखरेल लगायतको उपस्थिति थियो। साथै, न्युजिल्याण्डका नेपाली समुदायका प्रतिनिधि र विभिन्न कलेजका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।
एक्सपर्ट एजुकेसन एक अग्रणी शिक्षा तथा आप्रवासन परामर्श संस्था हो, जसको विश्वव्यापी उपस्थिती २३ देशमा फैलिएको छ। यस संस्थाले अष्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई भरोसायोग्य, पारदर्शी र प्रमाणित परामर्श सेवा प्रदान गर्दै आएको छ।
संस्थाका सेवाहरूले विश्वविद्यालय, कलेज वा विद्यालय चयन, भिसा आवेदन, छात्रवृत्ति खोजी, आवास व्यवस्थापन र जीवनयापन खर्चको जानकारी प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ। विश्वभरिका ८० भन्दा बढी शाखा कार्यालय र ६०० भन्दा बढी अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगले १५०,००० भन्दा बढी विद्यार्थीलाई विदेशमा अध्ययन हासिल गर्न मार्गदर्शन गरेको छ।
