आइसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ। सन् २०१४ पछि पहिलो पटक विश्वकपमा जित निकाल्दै नेपालले समग्रमा तेस्रो विजय हासिल गरेको हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई हराएको थियो।

मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। जवाफमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै शानदार जित निकालेको हो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतकीय पारी खेल्दै जितका नायक बने। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। चौथो विकेटका लागि दीपेन्द्र र गुल्शन झाले ७३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए। गुल्शन २४ रनमा अविजित रहे। अन्तिम ओभरमा ५ रन आवश्यक रहेको अवस्थामा पहिलो बलमा १ रन लिएपछि दोस्रो बलमै गुल्शनले चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।

नेपालले पावरप्लेमा बिना कुनै क्षति ५६ रन जोड्दै सशक्त सुरुवात गरेको थियो। ५.१ ओभरमै ५० रन पूरा गरेको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको थियो। मध्यक्रममा आएका दीपेन्द्रले १६औं ओभरमा लगातार दुई छक्का प्रहार गर्दै खेलको मोड नेपालतर्फ फर्काएका थिए। उनको आक्रामक ब्याटिङ नै जितको मुख्य आधार बन्यो।

यसअघि पहिलो इनिङ्समा स्कटल्यान्डका लागि ओपनर मिचेल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए। जर्ज मुन्सेले २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले जीवनदान पाएपछि २५ रन बनाए। रिची बेरिङ्टोन १० रनमा आउट भए भने अन्य ब्याटर दोहोरो अंकमा टिक्न सकेनन्। मार्क वाट १० रन र ओलिभर डेभिसन १ रनमा अविजित रहे।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट झारे भने कुशल भुर्तेल र रोहित पौडेलले समान १–१ विकेट लिए। १० ओभर सकिँदा स्कटल्यान्ड १ विकेटको क्षतिमा ८० रनमा थियो भने ११.६ ओभरमा उसले १०० रन पूरा गरेको थियो। १३.१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए पनि त्यसले खेलको अन्तिम नतिजामा ठूलो प्रभाव पार्न सकेन।

यो जितसँगै नेपालले लामो समयदेखि प्रतिक्षा गरिएको विश्वकप विजयको खडेरी अन्त्य गरेको छ। दबाबपूर्ण खेलमा संयमित ब्याटिङ, निर्णायक साझेदारी र प्रभावकारी बलिङ प्रदर्शनका कारण नेपालले ऐतिहासिक सफलता हात पारेको हो।