अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त हुनु र सुशासनमा देखिएका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ। आइतबार ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

अर्थमन्त्री खनालले नवयुवामा देखिएको असन्तुष्टि समय–समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार वर्तमान राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम हो।

आगामी फागुन २१ गते हुने निर्वाचनप्रति संकेत गर्दै उहाँले आम नागरिकले विकासको गति तीव्र बनाउने, सुशासनको अनुभूति दिलाउने, स्रोत र सम्पत्तिमाथिको अतिक्रमण घटाउने तथा भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

देशमा विकाससम्बन्धी नीति र योजना अभाव नरहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो। उहाँले विकास र समृद्धिका लागि बहसभन्दा बढी व्यवहारमा देखिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “विकासका सूत्र कागजमा मात्रै सीमित छन्। समस्या इच्छाशक्ति, इमानदारिता र परिणाम ल्याउनसक्ने व्यवस्थापनको अभाव हो। यी कुरा बहसले होइन, अभ्यासबाट मात्र सम्भव हुन्छन्।”

अर्थमन्त्री खनालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याको समाधान गर्न स्पष्ट रणनीतिक योजना बोकेको राजनीतिक शक्तिलाई जिताउन आम नागरिकलाई सचेत र सक्रिय हुन आग्रह गर्नुभएको छ। फोटो/समाचार न्युज एजेन्सी नेपाल