काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्दै आएका कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्दै आएका भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भएका २५ वर्षीय साइरज सुबेदी रहेका छन् ।
प्रहरीका अनुसार पवित्र प्रकाश अधिकारीले अल्बानिया पठाइदिने भन्दै ४ जना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिने भन्दै २ जना पीडितबाट १९ लाख रुपैयाँ तथा साइरज सुबेदीले अमेरिका पठाइदिने भन्दै ३ जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोप छ ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवित्र प्रकाश अधिकारी र बबिता विश्वकर्मालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरज सुबेदीलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
