काठमाडौं । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थिति देखिएको थियो ।
निर्वाचन आयोग का अनुसार प्रारम्भिक अनुमानमा करिब ६० प्रतिशत मत खसेको छ। आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले हालसम्म प्राप्त प्रारम्भिक विवरणका आधारमा उक्त अनुमान गरिएको जानकारी दिएका छन्। उनका अनुसार विभिन्न जिल्लाबाट विवरण संकलन गर्ने काम अझै जारी रहेको छ।
आयोगका अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेका थिए।
देशका विभिन्न जिल्लामा बिहानैदेखि मतदाताहरू लामो लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरेका थिए। ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म नागरिकहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेका थिए। कतिपय स्थानमा मौसमको प्रतिकूलता र सामान्य प्राविधिक समस्या देखिए पनि समग्रमा निर्वाचन प्रक्रिया अवरोधबिना अघि बढेको आयोगले जनाएको छ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। मतदान केन्द्र वरपर कडा सुरक्षा व्यवस्था मिलाइएकाले कुनै ठूलो अप्रिय घटना नभएको सुरक्षा निकायहरूले जानकारी दिएका छन्।
आयोगका अनुसार देशभरका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ। मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने काम भइरहेको छ भने मतगणनाको तयारी पनि सुरु गरिएको छ।
आयोगले मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइने जनाएको छ। प्रारम्भिक मतपरिणाम आउन केही समय लाग्ने भए पनि केही निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजा आजै रातिदेखि सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आयोगले मतदाता, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गरेको छ। अबको ध्यान मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रियातर्फ केन्द्रित भएको आयोगले जनाएको छ।
