आजबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। सन् २०२५ लाई बिदाइ गर्दै नेपालसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरेका छन्।
नयाँ वर्षको अवसरमा विश्वका विभिन्न देशका नेताहरूले शुभकामना सन्देश जारी गर्दै विश्व शान्ति, स्थायित्व र समृद्धिको कामना गरेका छन्। युद्ध, द्वन्द्व र अस्थिरताबाट पीडित विश्व समुदायले सन् २०२६ लाई सहकार्य, मानवता र विकासको वर्ष बनाउने अपेक्षा व्यक्त गरेका छन्।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को अन्त्य र सन् २०२६ को स्वागतमा विश्वका प्रमुख सहरहरूमा आतिशबाजी, सांस्कृतिक कार्यक्रम, प्रार्थना सभा तथा विविध उत्सवहरू आयोजना गरिएको छ। परिवार, आफन्त र साथीभाइसँग भेला भई खुसी साटासाट गर्ने परम्परा यस वर्ष पनि निरन्तर देखिएको छ।
येशु ख्रीष्टको जन्म भएको वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले सुरु गरेको यो पात्रो प्रणालीलाई ग्रेगोरियन पात्रो भनिन्छ, जुन आज विश्वव्यापी रूपमा प्रचलनमा छ।
यसै अवसरमा परदेशी मिडिया ग्रुप लिमिटेडले पनि नयाँ वर्ष २०२६ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा विश्वभरिका नागरिकहरूमा सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिएको मंगलमय नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गरेको छ।
