काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछिको अवस्थामा नेपालमा पर्यटन क्षेत्रले उल्लेख्य उत्साह देखाएको बताएका छन् । गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अक्टोबर २०२५ मा नेपालको इतिहासमै सर्वाधिक पर्यटक आगमन भएको उल्लेख गरे ।
अर्थमन्त्री खनालका अनुसार अंग्रेजी वर्षको अन्त्यसम्म आइपुग्दा यस वर्षकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिने अनुमान गरिएको छ । उनले कच्चा पदार्थको आयातसम्बन्धी सरकारी तथ्याङ्कले उत्पादन बढेको संकेत गरेको र उपभोग्य वस्तुको आयातले उपभोग तथा आयात दुवैमा वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार भदौ महिनामा केही ह्रास देखिए पनि असोज, कात्तिक र मङ्सिर महिनामा कर तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । उपभोग र उत्पादन क्रमशः सुधार हुँदै गएकोमा उनले विश्वास व्यक्त गरे ।
अर्थमन्त्री खनालले दुई दिनअघि चिनियाँ लगानीकर्ताहरूको सम्मेलनमा सहभागी भएको जानकारी दिँदै अन्तरिम सरकारले गरेका सुधारको प्रशंसा भएको बताए । उनले चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित देखिएको उल्लेख गरे ।
