न्यूयोर्क । रिजउड नेपाली समाजले न्यूयोर्कको रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि ९ लाख अमेरिकी डलर बराबरको संयुक्त राज्य अमेरिकाको संघीय अनुदान प्राप्त गरेको औपचारिक घोषणा गरेको छ।
समाजका अनुसार उक्त सहयोग आर्थिक वर्ष २०२६ को संघीय बजेट अन्तर्गत विनियोजन गरिएको हो। यातायात, आवास तथा शहरी विकाससम्बन्धी विनियोजन प्रक्रियामार्फत रकम सुनिश्चित गरिएको जनाइएको छ। यस पहलमा न्यूयोर्कबाट निर्वाचित अमेरिकी सिनेटर चक शुमरको नेतृत्व र पहल महत्वपूर्ण रहेको समाजले जनाएको छ।
रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका साथै युवा नेतृत्व विकास, ज्येष्ठ नागरिक सेवा, अन्तरपुस्ते संवाद र सामुदायिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रस्तावित मर्मत तथा विस्तार योजनाले केन्द्रको भौतिक संरचना सुदृढ गर्ने, पहुँचयोग्यता तथा सुरक्षा सुधार गर्ने र भावी पुस्ताका लागि सांस्कृतिक धरोहर संरक्षण गर्ने लक्ष्य लिएको छ।
सिनेटर शुमरले उक्त अनुदानलाई ऐतिहासिक उपलब्धि उल्लेख गर्दै यो सहयोगले क्वीन्स क्षेत्रमा बढ्दो नेपाली मूलका अमेरिकी समुदायलाई आवश्यक सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
समाजले संघीय सरकार तथा सम्बन्धित विधायिकाहरूप्रति आभार व्यक्त गर्दै नेपाली मूलका अमेरिकी समुदायको योगदानलाई संघीय तहमा मान्यता दिलाउन भएको सहयोगको प्रशंसा गरेको छ।
समाजका सरकार सम्बन्ध तथा अनुदान समितिका संयोजक अमित प्रताप शाहले यो सहयोग पूर्वाधार विकासका लागि मात्र नभई समुदायको पहिचान, साझेदारी र अवसरको मान्यता भएको बताएका छन्। एकीकृत सामुदायिक प्रयास र उत्तरदायी नेतृत्वबीचको सहकार्यबाट यस्तो उपलब्धि सम्भव भएको उनले उल्लेख गरेका छन्।
समाजका अध्यक्ष राजेश भट्टले उक्त अनुदान केन्द्रको मर्मत तथा विस्तारका लागि मात्र निर्दिष्ट गरिएको स्पष्ट पार्दै भवन खरिद तथा विकाससँग सम्बन्धित करिब १० लाख अमेरिकी डलर बराबरको बाँकी ऋण दायित्व यसबाट समेटिएको छैन बताएका छन्। संस्थाको दीर्घकालीन स्थायित्वका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको उनले बताए।
समाजले प्राप्त अनुदानको पारदर्शी र जिम्मेवार उपयोग गर्दै सांस्कृतिक संरक्षण, सामाजिक एकीकरण, आर्थिक सशक्तीकरण तथा संस्थागत स्थायित्व प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
