अकल्याण्ड। न्युजिल्यान्डको दक्षिणी टापुको तल्लो क्षेत्रमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ। जिओनेटका अनुसार स्थानीय समयअनुसार राति ९:१४ बजे साउथल्यान्डको ते आनाउबाट करिब ४० किलोमिटर उत्तर क्षेत्रमा ५३ किलोमिटर गहिराइमा भूकम्प गएको हो।

प्रारम्भिक रूपमा ६.३ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको तीव्रता पछि पुनः मूल्याङ्कन गरी ५.९ म्याग्निच्युड कायम गरिएको जिओनेटले जनाएको छ। भूकम्पको धक्का महसुस गरेको भन्दै २० हजारभन्दा बढी नागरिकले जिओनेटमा जानकारी गराएका छन्। मुख्य भूकम्पपछि सोही क्षेत्रमा सात वटा साना पराकम्प पनि रेकर्ड भएका छन्।

भूकम्पको धक्का इन्भरकार्गिल, डुनेडिन, गोर, क्रमवेल, टिमारु लगायत दक्षिणी टापुका विभिन्न स्थानमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीयवासीका अनुसार भूकम्प आउनुअघि ठूलो गर्जनको आवाज सुनिएको थियो भने त्यसपछि घर, फर्निचर र अन्य संरचना हल्लिएका थिए।

भूकम्पलगत्तै नेसनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (नेमा) ले मिलफोर्ड साउन्डदेखि पुइसेगुर पोइन्टसम्मका तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गर्दै स्थानीयलाई तत्काल उच्च स्थान वा समुद्रबाट टाढा सुरक्षित क्षेत्रमा जान आग्रह गरेको थियो। तर भूकम्पको तीव्रता पुनः मूल्याङ्कन गरी ५.९ कायम भएपछि चेतावनीलाई सतर्कता सल्लाह (एड्भाइजरी) मा झारिएको छ।

नेमाले अब तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ। स्थानीय सिभिल डिफेन्सले निर्देशन नदिएसम्म सर्वसाधारणलाई स्थानान्तरण गर्न आवश्यक नरहेको जनाइएको छ। यद्यपि, दक्षिणी टापुको पश्चिमी तटीय क्षेत्रमा असामान्य समुद्री बहाव, शक्तिशाली धार र अप्रत्याशित छाल आउन सक्ने भएकाले समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको छ।

भूकम्पपछि क्विन्सटाउनस्थित एडिथ काभेल पुल इन्जिनियरहरूको निरीक्षण नभएसम्मका लागि बन्द गरिने भएको छ। साथै, क्राउन रेन्ज क्षेत्रमा ढुंगा खस्ने वा साना पहिरो जान सक्ने जोखिम रहेकाले सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, विदेश भ्रमणमा रहेका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई घटनाको अवस्थाबारे प्रधानमन्त्री कार्यालयले निरन्तर जानकारी गराइरहेको जनाएको छ।

हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन् भने नागरिकलाई आधिकारिक सूचना मात्र पछ्याउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।