वेलिङ्टन। न्युजिल्याण्डमा बसोबास गर्दै सार्वजनिक स्वास्थ्य, सामाजिक सेवा तथा नेपाली समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा. रमिल अधिकारी न्युजिल्याण्ड रेडक्रस (New Zealand Red Cross) को अपर हट शाखाको अध्यक्ष (President of the New Zealand Red Cross – Upper Hutt Branch) मा चयन भएका छन्।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा. अधिकारीले सामाजिक सञ्जालमार्फत आफूले नयाँ यात्राको सुरुआत गरेको जानकारी दिएका छन्। उनले लेखेका छन्, “I am honoured and humbled to share that today I begin my new journey as President of the New Zealand Red Cross – Upper Hutt Branch.” उनले यो जिम्मेवारीलाई सम्मान र विनम्रतापूर्वक स्वीकार गर्दै मानव सेवा, स्वयंसेवा तथा समुदायको हितमा रेडक्रसको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

डा. अधिकारीको नियुक्तिलाई न्युजिल्याण्डस्थित नेपाली समुदायले गर्वको विषयका रूपमा लिएको छ। विभिन्न संघसंस्था तथा समुदायका सदस्यहरूले उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। नेपाली समुदायको तर्फबाट जारी शुभकामना सन्देशमा भनिएको छ, “न्युजिल्याण्ड रेडक्रस–अपर हट शाखाको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा चयन हुनु सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय हो। हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना।”
जनस्वास्थ्य विज्ञका रूपमा परिचित डा. अधिकारी न्युजिल्याण्डको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत छन्। उनी हाल सार्वजनिक स्वास्थ्य समानता (Health Equity) र सामुदायिक सहभागितासँग सम्बन्धित नेतृत्वदायी भूमिकामा कार्यरत रहेका छन्। उनी सार्वजनिक स्वास्थ्यका विषयमा सक्रिय वकालत गर्ने व्यक्तित्वका रूपमा पनि परिचित छन्।
सामुदायिक सेवामा उनको योगदान बहुआयामिक छ। उनी Public Health Association of New Zealand (PHANZ) का सह-अध्यक्ष (Co-President) समेत हुन्। यसअघि वेलिङ्टन शाखाको अध्यक्षको रूपमा पनि उनले नेतृत्व गरिसकेका छन्। साथै उनी Justice of the Peace (JP), विवाह अधिकृत (Marriage Celebrant), White Ribbon Ambassador, नेपालिज कल्चर एण्ड टुरिजम प्रमोशन फोरम न्युजिल्याण्ड (NCTPF-NZ) का अध्यक्ष तथा विभिन्न सामाजिक संस्थासँग आबद्ध रहेर समुदायको सेवामा सक्रिय छन्।
स्वास्थ्य र सामाजिक सेवामात्र होइन, डा. अधिकारी नेपाली संगीत क्षेत्रमा पनि स्थापित नाम हुन्। उनी दर्जनौँ चर्चित नेपाली गीतका सफल गीतकार हुन्। विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संगीतको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका उनले आफ्ना सिर्जनामार्फत नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका छन्। उनको सांगीतिक योगदानका लागि नेपालमा समेत सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
यसका अतिरिक्त उनी अपर हट शहरको बहुसांस्कृतिक समाजलाई जोड्ने विभिन्न अभियान, सार्वजनिक स्वास्थ्य कार्यक्रम, सांस्कृतिक प्रवर्द्धन तथा सामुदायिक नेतृत्वमा सक्रिय रहँदै आएका छन्। समावेशी समाज निर्माण, स्वास्थ्य समानता र समुदायबीच सहकार्यलाई प्राथमिकता दिँदै आएका डा. अधिकारीको न्युजिल्याण्ड रेडक्रसको अपर हट शाखाको अध्यक्षमा भएको नियुक्तिले नेपाली समुदाय मात्र नभई सम्पूर्ण बहुसांस्कृतिक समुदायका लागि पनि गौरवको विषय बनेको छ।
