अकल्याण्ड । न्युजिल्याण्ड सरकारले सन् २०२७ को अन्त्यदेखि नागरिकता लिन चाहने अधिकांश आप्रवासीका लागि नयाँ नागरिकता परीक्षा लागू गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार नागरिकता आवेदन दिने व्यक्तिले २० वटा बहुविकल्पीय प्रश्नको परीक्षा दिनुपर्नेछ । उत्तीर्ण हुन कम्तीमा ७५ प्रतिशत अंक ल्याउनुपर्ने बताइएको छ ।

परीक्षामा न्युजिल्याण्डको कानुन, मानवअधिकार, लोकतान्त्रिक मूल्य, मतदान अधिकार, सरकारको संरचना तथा नागरिकको जिम्मेवारीसम्बन्धी विषय समेटिनेछन् । सरकारका अनुसार परीक्षा प्रत्यक्ष उपस्थित भएर दिनुपर्नेछ। १६ वर्षमुनिका, ६५ वर्षमाथिका र विशेष स्वास्थ्य अवस्थाका केही व्यक्तिलाई भने छुट दिइनेछ ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अष्ट्रेलिया, बेलायत र अमेरिकाजस्ता देशमा लागू अभ्यासअनुसार न्युजिल्याण्डले पनि नयाँ प्रणाली लागू गर्न लागेको बताएका छन् । आन्तरिक मामिला मन्त्री ब्रुक भान भेल्डेनले नागरिकता केवल कानुनी प्रक्रिया मात्र नभई ठूलो सम्मान र जिम्मेवारी भएको बताउँदै नयाँ परीक्षाले न्युजिल्याण्ड नागरिकताको मूल्य अझ बलियो बनाउने दाबी गरेकी छन्।

कसले परीक्षा दिनुपर्छ ?

सन् २०२७ को अन्त्यपछि “सिटिजनसिप बाइ ग्रान्ट” अन्तर्गत नागरिकता आवेदन दिने अधिकांश व्यक्तिले परीक्षा दिनुपर्नेछ । यसको अर्थ, न्युजिल्याण्डमा कम्तीमा पाँच वर्ष स्थायी बसोबास गरेका विदेशी नागरिकहरूले नागरिकता पाउन परीक्षा पास गर्नुपर्नेछ । तर केही समूहलाई भने छुट दिइनेछ । १६ वर्षभन्दा कम उमेरका, ६५ वर्षभन्दा माथिका, गम्भीर स्वास्थ्य समस्या भएका, अंग्रेजी भाषाको सर्तमा छुट पाएका वा विशेष व्यक्तिगत परिस्थितिका व्यक्तिहरूले परीक्षा दिनु नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

परीक्षा कस्तो हुनेछ ?

परीक्षामा २० वटा बहुविकल्पीय प्रश्न सोधिनेछन्। पास हुन कम्तीमा १५ प्रश्नको सही उत्तर अर्थात् ७५ प्रतिशत अंक ल्याउनुपर्नेछ । परीक्षा केवल प्रत्यक्ष उपस्थित भएर दिनुपर्नेछ। सरकारले कृत्रिम बुद्धिमत्ता र घरबाट सहयोग लिएर परीक्षा दिने सम्भावना रोक्न अनलाइन प्रणालीभन्दा प्रत्यक्ष परीक्षा सुरक्षित हुने निष्कर्ष निकालेको जनाएको छ ।

परीक्षामा के–के सोधिनेछ ?

परीक्षामा न्युजिल्याण्डको अधिकार विधेयक, मानव अधिकार, मतदान अधिकार, लोकतान्त्रिक मूल्य, सरकारको संरचना, कानुनी व्यवस्था, नागरिकको जिम्मेवारी तथा न्युजिल्याण्ड पासपोर्ट प्रयोगसम्बन्धी विषय समेटिनेछन् । सरकारले वेटांगी सन्धिसम्बन्धी प्रश्न पनि समावेश गरिने पुष्टि गरेको छ । यससँगै अभिव्यक्ति स्वतन्त्रता, धर्मको स्वतन्त्रता, महिला–पुरुष समान अधिकार तथा विभेदविरुद्धका कानुनी सुरक्षासम्बन्धी प्रश्न पनि रहने जनाइएको छ ।

परीक्षा दिन कति खर्च लाग्नेछ ?

हालसम्म शुल्कको टुंगो लागिसकेको छैन । तर अहिले वयस्कका लागि नागरिकता आवेदन शुल्क ५६० न्युजिल्याण्ड डलर र १५ वर्षमुनिका बालबालिकाका लागि २८० डलर रहेको छ । नयाँ परीक्षाका लागि अतिरिक्त शुल्क लाग्ने सरकारको तयारी छ । सरकारका अनुसार शुल्क राख्नुको उद्देश्य आवेदकलाई परीक्षा गम्भीर रूपमा तयारी गर्न प्रेरित गर्नु हो ।

यदि कोही परीक्षामा असफल भए पुनः परीक्षा दिन सकिनेछ । तर प्रत्येकपटक नयाँ शुल्क तिर्नुपर्ने सम्भावना छ । तीनपटक असफल भए ३० दिन कुर्नुपर्नेछ भने अधिकतम ६ पटकसम्म मात्र परीक्षा दिन पाइनेछ ।

अन्य देशमा कस्तो छ व्यवस्था ?

अस्ट्रेलिया, बेलायत र अमेरिकामा यस्ता नागरिकता परीक्षा पहिल्यैदेखि लागू छन् । अस्ट्रेलियामा २० प्रश्नको परीक्षा हुने गर्छ, जहाँ देशको इतिहास, मूल्य र संस्कृतिबारे प्रश्न सोधिन्छ ।
बेलायतमा “लाइफ इन द यूके” नामक परीक्षा सञ्चालन हुन्छ, जसमा ब्रिटिश इतिहास, परम्परा र अंग्रेजी भाषासम्बन्धी प्रश्न समावेश हुन्छन् । अमेरिकामा भने अंग्रेजी भाषा र नागरिक शिक्षासम्बन्धी मौखिक तथा लिखित परीक्षा लिइन्छ ।

राजनीतिक बहस पनि सुरु

नयाँ व्यवस्थालाई लिएर न्युजिल्याण्डमा राजनीतिक बहस पनि सुरु भएको छ । लेबर पार्टीका नेता क्रिस हिप्किन्सले नागरिकता प्रक्रियालाई मजबुत बनाउन सकिने भए पनि देशको इतिहास र वेटांगी सन्धिलाई कमजोर बनाउने प्रयास हुन नहुने बताएका छन् । यता एसीटी पार्टी र न्युजिल्याण्ड फर्स्टले भने देशका मूल्य, कानुन र समान अधिकारबारे जानकारी हुनु नागरिकताका लागि आवश्यक रहेको बताएका छन् । सरकारले आगामी महिनाहरूमा परीक्षा सम्बन्धी विस्तृत मार्गदर्शन, अध्ययन सामग्री र तयारीका स्रोतहरू सार्वजनिक गर्ने जनाएको छ।