काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार तथा अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाको संरक्षणका लागि तारबार गर्ने निर्णय गरेको छ । महानगरको सार्वजनिक निर्माण विभागले यससम्बन्धी प्रक्रिया अघि बढाउँदै सूचना जारी गरेको हो ।

विभागले महानगरपालिका अन्तर्गतका सबै ३२ वटै वडालाई पत्राचार गर्दै तारबार आवश्यक पर्ने खोला किनार र सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार ‘कोरिडोर फेन्सिङ वर्क्स’ सञ्चालन गर्न लागिएको पत्रमा उल्लेख गरिएको छ ।

विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा विभिन्न वडाका खोला किनार तथा सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक खरिद प्रक्रिया पूरा गरी योजना कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । साथै, वडा क्षेत्रभित्र सुधार तथा संरक्षण आवश्यक रहेका स्थानहरूको विवरण छिटो उपलब्ध गराउन आग्रह गरिएको छ ।

महानगरका अनुसार योजनाका लागि आवश्यक खरिद प्रक्रिया सुरु भइसकेको छ र वडाहरूबाट विवरण प्राप्त हुनासाथ तारबार निर्माण कार्य अघि बढाइनेछ ।