देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिन थालेका छन्। काठमाडौंका केही क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि देखिँदा चितवन–३ लगायतका स्थानमा पनि मतगणना जारी रहेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना सुरु भएको छ। माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाबाट मतगणना प्रारम्भ गरिएको हो। यस क्षेत्रमा कुल ६४.४६ प्रतिशत मत खसेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
चितवन–३ मा रास्वपाबाट सोविता गौतम, नेकपाबाट रेणु दाहाल, एमालेबाट शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार रहेका छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा ती प्रमुख दलहरूबीच हुने अनुमान गरिएको छ।
यसैबीच, कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पनि मतगणना सुरु भएको छ। कास्की–२ मा शुक्रबार बिहान साढे १२ बजे मतगणना सुरु भएको हो भने कास्की–१ मा बिहान २ बजे र कास्की–३ मा बिहान साढे २ बजेदेखि मतगणना प्रारम्भ गरिएको छ।
कास्की–२ मा पोखरा महानगरपालिका–३३ बाट मतगणना भइरहेको छ भने कास्की–१ मा रुपा गाउँपालिकाबाट गणना सुरु गरिएको छ। त्यस्तै कास्की–३ मा अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको छ।
काठमाडौंका केही क्षेत्रमा भने रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्। काठमाडौं–१ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले प्रारम्भिक अग्रता लिएकी छन्। उनले ७०४ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार प्रबल थापाले ४०२ मत प्राप्त गरेका छन्।
त्यसैगरी काठमाडौं–८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले १,७२४ मतसहित अग्रता लिएका छन्। कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २०७ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार सुमन सायमीले १५४ मत पाएका छन्।
अन्य क्षेत्रमा पनि मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार देशभरको मतपरिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।