नेपाली क्रिकेटलाई सहयोग गर्ने उद्देश्यसहित माया ग्रुपले नेपाली राष्ट्रिय पुरुष टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुल ९ जना क्रिकेटरलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा माया ग्रुपले उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै राष्ट्रिय टोलीका खेलाडी भीम सार्की, गुलशन झा र नन्दन यादवसँग प्रायोजन सम्झौता गरेको हो। यस्तै, युवा क्रिकेटर अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यु–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग पनि सम्झौता गरिएको छ। कार्यक्रममा सुशील रावल भने उपस्थित थिएनन्।
माया ग्रुपले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने लक्ष्यसहित निरन्तर सहयोग गर्दै आएको जनाएको छ। ‘माया’ नामअन्तर्गत यस समूहले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोसाक घर ९बेलायत० तथा माया हेटौंडा रोयल्सजस्ता संघसंस्थाहरू यस समूहअन्तर्गत सञ्चालनमा छन्।
यी प्लेटफर्ममार्फत खेलाडी, क्रिकेट एकेडेमी तथा खेलकुद पूर्वाधार विकासमा सहयोग गर्दै आएको माया ग्रुपले बेलायतमा रहेका नेपाली समुदायलाई एकआपसमा जोड्ने कार्यसमेत गरिरहेको जनाएको छ।
सम्झौतापछि आयोजित कार्यक्रममा माया ग्रुपका राज पाण्डेले यस सहकार्यले नेपाली क्रिकेट खेलाडीहरूको प्रतिभा थप निखार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्रिकेटरहरूले पनि माया ग्रुपप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अन्य खेलाडीहरूलाई समेत यसले सहयोग पुर्याउने अपेक्षा राखेका छन्। खेलाडीहरूलाई दिइने प्रायोजन रकमको विवरण भने सार्वजनिक गरिएको छैन।
