काठमाडौं — दिगो हिमाली पर्यटनको प्रवर्द्धनका लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकप्रति शिष्टाचारपूर्ण व्यवहार र फोहोर व्यवस्थापनसमेतका विषयमा स्पष्ट मापदण्ड बनाएर काम गर्नुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी०को सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौंमा जारी तालिममा हिमाली पर्यटनसँग सम्बन्धित सीप र व्यवस्थापनका विषयमा व्यापक छलफल भइरहेको छ। पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था काठमाडौं इन्भाइरोमेन्टल एजुकेशन प्रोजेक्ट ९किप्ट० को समन्वयमा भइरहेको यस तालिममा हिमाली क्षेत्रमा पर्यटक लैजाँदा, सानो समूहमा ट्रेकिङ गर्दा वा गाइडको रूपमा काम गर्दा कम वातावरणीय क्षति कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिइएको छ।
तालिममा हिमाली क्षेत्रमा काम गर्ने ८० भन्दा बढी गाइड र भरियालाई जिम्मेवार र दिगो पर्यटनका उपायहरूको बारेमा सीप प्रदान गरिएको छ। प्रशिक्षक र किप्टका प्रवन्धक तारानन्द जोशीका अनुसार, टे«किङमा जानुअघि वातावरणमैत्री सामग्री तयारी, बाटोमा हिँड्दा झार–झ्याउमा कम क्षति पुर्याउने तरिका, र क्याम्प बस्दा पालना गर्नुपर्ने मापदण्डका विषयमा जानकारी दिइएको छ।
जोशीले भने, “हिमाली क्षेत्रमा पर्यटनका सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन, पाहुनाप्रति शिष्टाचारको कमी, र जथाभावी ट्रेकिङले वन्यजन्तुमा असर पुर्याउनु हो। यसलाई न्यूनिकरण गर्न पर्यटन व्यवसायी सचेत हुनुपर्छ। हामी तालिममार्फत यसबारेमा सीप र बुझाइ फैलाउने प्रयास गरिरहेका छौं।”
तालिममा चार दिनसम्म पर्यटन व्यवसायिक सीपदेखि दिगो पर्यटन अभ्याससम्मका विषय समेटिनेछन्। साथै महिला उद्यमीहरूसँग अनुभव साझा गर्ने र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि राखिएको छ।
सोलुखुम्बुका पर्यटन व्यवसायी मिङमार छिरिङ शेर्पाले भने, “यो तालिमले हाम्रो व्यावसायिक क्षमता बढाउन महत्वपूर्ण सहयोग पुर्याउनेछ।”
कार्यक्रम डिसेम्बर १७ देखि २४ सम्म विभिन्न दिनमा सञ्चालन हुँदैछ र हिमाली पर्यटन व्यवसायमा संलग्न करिब ३ सय जनाले सहभागीता जनाउने अपेक्षा गरिएको छ।
