काठमाडौं — ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउँदै आएको भारतीय गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेलाउँदै आएको पाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधवार पत्रकार सम्मेलनमार्फत अवैध क्यासिनो गतिविधिमा संलग्न ७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएको हो। परिसरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका हुन्।
प्रहरीका अनुसार अवैध क्यासिनोको आवरणमा नेपाली नागरिकलाई समेत ठगी कार्यमा संलग्न गराउने थप ७ जनाको पहिचान भइसकेको छ र उनीहरूको खोजी जारी छ। छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको र उनी ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’का सञ्चालकसमेत रहेको खुलेको छ। ती समूहले नेपालसहित भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्टको नाममा अवैध जुवा सञ्चालन गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीपी एण्ड महाकाय ग्रुप अन्तर्गतका करिब ७० जना क्यासिनो खेलाडी मंसिर २५ गते नेपाल आएका थिए। सो इभेन्टमा अन्य समूहहरू समेत सहभागी हुँदा भारतबाट नेपाल आउनेको संख्या करिब २०० पुगेको खुलेको छ। जुवा खेल्न आउनेहरूका लागि हवाई टिकटदेखि खाना र बसोवाससम्मको सम्पूर्ण व्यवस्था गिरोहले नै मिलाएको देखिएको प्रहरीले जनाएको छ।
जुवामा हुण्डीमार्फत कारोबार हुने तथ्यसमेत फेला परेको र यसले क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव पारेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
