भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कस्थित हिरासतमा राखेपछि उनले अस्थायी रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न तथा राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक ठहर गरेको हो ।
अमेरिकाले शनिबार भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुँदासम्म अमेरिकाले नै शासन सञ्चालन गर्ने अभिव्यक्ति दिएका छन्, जसले अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रतिक्रिया जन्माएको छ ।
डेल्सी रोड्रिगेज को हुन् ?
डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा भेनेजुएलाको राजधानी काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए र उनले सन् १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।
कानून विषयमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता पनि हुन् । उनी लामो समयदेखि राष्ट्रपति मादुरो सरकारकी नजिककी सहयोगीका रूपमा परिचित छिन् र पूर्वराष्ट्रपति हुगो चाभेजको राजनीतिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेकी थिइन् ।
उनले सन् २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकार समर्थक संविधानसभाको अध्यक्षका रूपमा काम गरेकी थिइन् । सन् २०१८ को जुनमा उनी भेनेजुएलाकी उपराष्ट्रपति नियुक्त भएकी थिइन् ।
सन् २०२४ को अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धबीच भेनेजुएलाको ऊर्जा क्षेत्र व्यवस्थापनमा उनको भूमिकालाई थप महत्वपूर्ण बनाएको थियो ।
उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले विभिन्न मन्त्रालय तथा आर्थिक नीतिहरूको समन्वय गर्दै देशको चरम महँगी र आर्थिक संकट सामना गर्न प्रयास गर्दै आएकी छन् । उनी राष्ट्रपति मादुरोकी विश्वासपात्र सहयोगी र सरकारकी कडा समर्थकका रूपमा चिनिन्छिन् ।
राष्ट्रपति मादुरो नियन्त्रणमा लिइएको घटनापछि रोड्रिगेजले अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै आफ्नो देशका राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी थिइन् ।
