गत बिहीबार आएको भीषण वर्षापछि टौरङ्गाको माउन्ट माउङ्गानुईमा गएको पहिरोमा बेपत्ता भएका छ जना जीवित नरहेको आशंका उद्धारमा संलग्न अधिकारीहरूले गरेका छन्।

पहिरोमा परि बेपत्ता हुनेहरूको नाम सार्वजनिक गर्दै उद्धारमा संलग्न अधिकारीहरूले खोजी तथा उद्धार कार्यलाई ‘रिकभरी फेज’ मा परिणत गरेका छन्।

उद्धारका क्रममा मानव अवशेष फेला परेपछि खोजी तथा उद्धार कार्यलाई ‘रिकभरी फेज’ अर्थात् शव संकलन चरणमा प्रवेश गराइएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेहरूमा मोरिन्सभिलकी ५० वर्षीया लिसा एनी म्याकलेनन, स्विडेनका २० वर्षीय मान्स लोके बर्नहार्डसन, रोटोरुवाकी ७१ वर्षीया ज्याक्वेलिन सुज्यान व्हीलर, न्गोंगोटाहाकी ७१ वर्षीया सुजन डोरिन नोउल्स, अकल्याण्डकी १५ वर्षीया शेरोन म्याक्यानिको तथा १५ वर्षकै म्याक्स फर्स–की रहेका छन्।

घटनास्थलको अवस्था, पहिरोको गहिराइ र जोखिमका कारण जीवित व्यक्ति फेला पर्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकाल्दै अब शव संकलनमा केन्द्रित हुने निर्णय गरिएको हो।

बे अफ प्लेन्टी क्षेत्रका प्रहरी सुपरिन्टेन्डेन्ट टिम एन्डरसनले शुक्रबार दिउँसो सञ्चारमाध्यमसँग कुरा गर्दै मृतक वा बेपत्ता हुनेको संख्या ६ भन्दा बढी नरहेको बताउनुभयो। उहाँले जोखिमपूर्ण अवस्थाबीच पनि उद्धारकर्मीहरूले उच्च सतर्कताका साथ काम गरिरहेको जानकारी दिनुभयो।

घटनाले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण देशलाई नै स्तब्ध बनाएको छ। प्रभावित परिवारप्रति प्रहरी प्रशासन, स्थानीय निकाय तथा सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, आपतकालीन सेवामा खटिएका उद्धारकर्मीहरूको साहस र समर्पणको पनि उच्च प्रशंसा गरिएको छ।