जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत विदेशी कामदारको संख्या सीमित गर्ने तयारी गरेको छ। सन् २०२७ बाट कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने योजना रहेको क्योदो न्युजले जनाएको छ।

यसैबीच जापानमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२५ को जुनसम्म जापानमा बसोबास गर्ने नेपालीको संख्या २ लाख ७४ हजार पुगेको छ। नेपालीहरू मुख्यतः रेस्टुरेन्ट, सेवा, निर्माण र उत्पादन क्षेत्रमा कार्यरत छन्।

वृद्ध जनसंख्याका कारण श्रम अभाव भोगिरहेको जापानले प्राविधिक इन्टर्न तालिम कार्यक्रमलाई नयाँ सीप विकास–आधारित रोजगारी प्रणालीमार्फत सुधार गर्ने तयारी गरेको छ। नयाँ व्यवस्थाले विदेशी कामदारलाई दीर्घकालीन रोजगारीको अवसर दिने अपेक्षा गरिएको छ।

यसैबीच पछिल्ला केही वर्षयता जापानमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढ्दै गएको छ। जापानको आप्रवासन सेवा एजेन्सीका अनुसार सन् २०२५ को जुनसम्म जापानमा बसोबास गर्ने नेपालीको संख्या २ लाख ७४ हजार पुगेको छ, जसका आधारमा नेपाल विदेशी नागरिकको संख्यामा पाँचौँ स्थानमा रहेको छ।

नेपाली दूतावासका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्रै करिब ४० हजार नेपाली जापान पुगेका छन्, जुन सबैभन्दा ठूलो संख्या हो। गत आर्थिक वर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जापान जाने नेपालीको संख्या १८ हजार ७ सय ४४ रहेको छ, जसमा करिब ५ हजार ८ सय महिला रहेका छन्।

सन् २०२२ यता जापानमा नेपालीको संख्या वार्षिक ३० हजारदेखि ५० हजार सम्मले बढ्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदन अनुसार जापान नेपाली श्रमिकका लागि छैटौँ प्रमुख गन्तव्य बनेको छ। जापानस्थित नेपाली दूतावासका अनुसार नेपालीहरू जापानभर छरिएर बसोबास गरिरहेका छन्। कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार अधिकांश नेपाली रेस्टुरेन्ट, सेवा, निर्माण तथा उत्पादन क्षेत्रमा कार्यरत छन्।