गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डको आयोजनामा न्युजील्याण्डको साउथ आइल्याण्डस्थित क्राइस्टचर्चमा नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ। आगामी १८ अप्रिल २०२६ मा हुने फेस्टिभलमा अष्ट्रेलिया तथा न्युजील्याण्डका लागि नेपाली राजदूत चित्रलेखा यादव विशेष अतिथि तथा स्थानीय एमपीहरूको सहभागिता रहनेछ।
एनआरएनए न्युजिल्याण्डले राजदूत यादवको सहभागिताबारे जानकारीसहितको आधिकारिक पोस्टरसमेत सार्वजनिक गरिसकेको छ। फेस्टिभलमार्फत नेपालको समृद्ध संस्कृति, परम्परा, खानपान, संगीत तथा सामुदायिक आत्मालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको एनआरएनए न्युजिल्याण्डका अध्यक्ष अच्युत अर्यालले जानकारी दिनुभयो।
अष्ट्रेलिया तथा न्युजील्याण्डस्थित नेपाली दूतावासको सहयोगमा आयोजना हुने यस कार्यक्रममा एजुकेसन एक्सपर्ट टाइटल स्पोन्सरका रूपमा रहेको छ भने अन्य स्पोन्सरहरू पनि क्रमशः थपिँदै गएको एनआरएनए न्युजिल्याण्डका अध्यक्ष अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल फेस्टिभलले प्रवासी नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नेपाल फेस्टिभलका क्रममा नेपाली सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुति, परम्परागत नेपाली परिकारको स्वाद, कला तथा संस्कृतिलाई झल्काउने विभिन्न प्रदर्शनीहरू आयोजना हुनेछन्। साथै, विभिन्न समुदायबीच आपसी मेलमिलाप, सांस्कृतिक आदान–प्रदान र सामाजिक एकताको सन्देश प्रवाह गर्ने अवसरसमेत जुर्नेछ।
नेपाल फेस्टिभल २०२६ ले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्ने मात्र होइन, स्थानीय किवी समुदायलाई समेत नेपालको विविध सांस्कृतिक पहिचानसँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ।
