अकल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले आफ्नो वार्षिक साधारणसभा (एजीएम)–२०२६ आगामी जुलाई २५ तारिक शनिबार क्राइस्टचर्चमा आयोजना गर्ने भएको छ।
एनआरएनए न्युजिल्यान्डले जारी गरेको सूचनाअनुसार साधारणसभा क्राइस्टचर्चस्थित टे हापुआ: हल्सवेल सेन्टरको मोहोआओ हलमा आयोजना हुनेछ।
जारी सूचनाअनुसार वार्षिक साधारणसभामार्फत संस्थाको विगत एक वर्षको उपलब्धिको समीक्षा, संस्थागत सुशासन सुदृढीकरण तथा आगामी कार्यदिशा तय गरिनेछ। सूचनामा भनिएको छ, “एनआरएनए न्युजिल्यान्डको भविष्यको दिशा निर्धारण, संस्थाका महत्वपूर्ण विषयमा छलफल तथा विगत एक वर्षको कार्यसम्पादनको समीक्षा गर्ने यो महत्वपूर्ण अवसर हो। संस्था र समुदायलाई अझ सशक्त बनाउन सदस्यहरूको सहभागिता र सुझाव अपरिहार्य छन्।”
साधारणसभामा अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, सन् २०२५ को वार्षिक साधारणसभाको निर्णय पुस्तिका अनुमोदन, कार्यसमितिसँग प्रश्नोत्तर तथा समसामयिक विषयमा छलफलसमेत गरिने कार्यक्रम रहेको छ।
यस वर्षको साधारणसभाको मुख्य आकर्षणका रूपमा संविधान संशोधन समिति गठन रहनेछ। उक्त समितिले संस्थाको विधानको समीक्षा गरी आवश्यक संशोधनका लागि सुझाव तयार गर्नेछ। प्रस्तावित संशोधनका विषयमा पनि साधारणसभामा विस्तृत छलफल हुने जनाइएको छ।
एनआरएनए न्युजिल्यान्डले सम्पूर्ण सदस्यलाई साधारणसभामा उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। संस्थालाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने दिशामा सदस्यहरूको भूमिका महत्वपूर्ण हुने छ।
